कास्कीमा मादी गाउँपालिकाबाहेक सबै पालिकाले ल्याए बजेट तथा कार्यक्रम


कास्की । कास्कीका पाँच पालिकामध्ये चार वटाले तोकिएको समयभित्र नै आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम ल्याएका छन् । पोखरा महानगरपालिका, रूपा गाउँपालिका, अन्नपूर्ण र माछापुच्छ्रे गाउँपालिकाले नीति कार्यक्रमसहित बजेट सभामा प्रस्तुत गरेका छन् ।
मादी गाउँपालिकाले स्थानीय तह सञ्चालन ऐनमा भएको व्यवस्थाअनुसार तोकिएको समय असार १० गतेभित्र बजेट ल्याउन सकेन । मादीमा नेपाली कांग्रेस र नेकपा (एमाले)का बीचको विवादका कारण सोमबार सुरू भएको गाउँसभा अनिश्चितकालका लागि स्थगन गरिएको छ ।
गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले केही दिनमै सहमति कायम गरेर नीति कार्यक्रम पारित गर्ने र बजेट प्रस्तुत गर्ने बताए । अध्यक्ष गुरुङले सोमबार गाउँसभामा नीति कार्यक्रम प्रस्तुत गरेपछि छलफलका क्रममा विवाद भएको हो । त्यसपछि सभा स्थगन गरिएको थियो ।
माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्र्ष २०८२/८३ का लागि कूल ६७ करोेड ९९ लाख ५१ हजार बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको १७ औँ गाउँसभामा आज उपाध्यक्ष एवं राजस्व परामर्श समितिका संयोजक सीता अधिकारीले वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गरिन् ।
बजेटमा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर रकम विनियोजन गरिएको उपाध्यक्ष अधिकारीले बताइन् । उनका अनुसार पूर्वाधार विकासमा रु ११ करोड ५० लाख ५० हजार, गाउँपालिका कार्यालय तथा मातहत कार्यालय सञ्चालनका लागि रु १० करोड ८० लाख १० हजार, सामाजिक विकासतर्फ चार करोड ९४ लाख ३३ हजार रकम छुट्टाइएको छ ।
यसैगरी आर्थिक विकासतर्फ दुई करोड ४४ लाख आठ हजार, संस्थागत विकास र सेवा प्रवाहतर्फ एक करोड ६४ लाख ५० हजार, वडागत बजेट रु पाँच करोड ४० लाख, सशर्त अनुदान रु २७ करोड ९६ लाख र अन्य फिर्ता गर्नुपर्ने रकम रु दुई करोड ३५ लाख रहेको छ ।
गाउँपालिकाले कृषि उत्पादन ढुवानीमा कृषकलाई यसवर्षदेखी अनुदान दिने भएको छ । सो कार्यका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको उपाध्यक्ष अधिकारीले बताइन्।
त्यसैगरी महिलाहरूलाई आत्मनिर्भर बनाउनका लागि विभिन्न सीपमूलक कार्यक्रम गर्ने, पर्यटन विकास, पर्यटन पूर्वाधार तथा स्वास्थ्यका विभिन्न कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ ।
यसैगरी अन्नपूर्ण गाउँपालिकाले रु ६५ करोड १५ लाख ३४ हजार ७७५ रकमको बजेट ल्याएको छ । बजेटमा पूर्वाधार विकासका लागि रु १४ करोड ४३ लाख ७२ हजार, सामाजिक विकासका लागि रु ३२ करोड ६२ लाख ५० हजार, आर्थिक विकासतर्फ रु चार करोड ८१ लाख बजेट विनियोजन गरिएको छ । पालिकाले अन्नपूर्ण आधारभूत अस्पतालबाट विशेषज्ञसहित स्वास्थ्य सेवा प्रदान गर्नका लागि बजेट विनियोजन गरेको छ ।
यसैगरी भौगोलिक रूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले गत आइतबारै नीति कार्यक्रम सहित रु आठ अर्ब ३५ करोड १२ लाखको बजेट नगरसभामा प्रस्तुत गरेको छ । सङ्घीय सरकारको सशर्त अनुदानबाट रु तीन अर्ब, १३ करोड १२ लाखअर्थात् र आन्तरिक आयबाट रु पाँच अर्ब २२ करोड बेहोर्ने गरी महानगरपालिकाले बजेट ल्याएको हो ।
बजेटमा पूर्वाधारतर्फ रु दुई अर्ब ३३ करोड विनियोजन गरिएको छ । सामाजिक विकासतर्फ रु ३८ करोड, आर्थिक विकासतर्फ रु १८ करोड, वडा कार्यालयतर्फ रु एक अर्ब, सहरी विकास पर्यटन वन तथा वातावरणतर्फ रु ३८ करोड बजेट प्रस्ताव गरिएको छ । यसैगरी स्वास्थ्यतर्फ रु ३१ करोड दुई लाख शिक्षातर्फ रु एक अर्ब ७३ करोड ३३ लाख ५१ हजार छुट्टाइएको हो ।
यसैगरी रूपा गाउँपालिकाले आगामी आव २०८२/०८३ को लागि रु ४८ करोड ५५ लाख ३७ हजारको बजेट ल्याएको छ । जसअन्तर्गत चालु खर्चका लागि रु ३३ करोड ३४ लाख ४८ हजार र पुँजीगततर्फ रु १५ करोड २० लाख ५७ हजार खर्च हुने अनुमान गरिएको उपाध्यक्ष लालसुब्बा गुरुङले बताए ।
बजेटको स्रोतमा नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानतर्फ रु सात करोड ६५ लाख, नेपाल सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँटतर्फ रु सात करोड ३२ लाख, नेपाल सरकार सशर्त अनुदानतर्फ रु १८ करोड ७२ लाख अनुमान गरिएको छ ।
यसैगरी नेपाल सरकार समपूरक अनुदानतर्फ रु पाँच करोड ७७ लाख, नेपाल सरकार विशेष अनुदान रकम रु एक करोड ६५ लाख, गण्डकी प्रदेश सरकार राजस्व बाँडफाँट रु ७८ लाख ३७ हजार, गण्डकी प्रदेश सरकार समपूरक अनुदानतर्फ रु ६० लाख रहेको छ ।
बजेटको स्रोतमा गण्डकी प्रदेश सरकार समानीकरण अनुदानतर्फ रु ९३ लाख ४१ हजार, गण्डकी प्रदेश सरकार विशेष अनुदान रकम रु ४० लाख, प्राप्त हुँदा न्यून हुने रकम रु पाँच करोड ५३ लाख १४ हजार गाउँपालिकाको चालु आवको अल्या रकम रु तीन करोड ८९ लाख १४ हजार र चालु आवको लागी आन्तरिक स्रोत अनुमान रु एक करोड ६४ लाख बेहोरिने पालिकाले जनाएको छ ।