आन्तरिक विवादका कारण धनुषाका ६ पालिकाले ल्याउन सकेनन् बजेट


धनुषा । स्थानीय तहले असार १० गते सभा सम्पन्न गर्नुपर्ने प्रावधानअनुसार गाउँ तथा नगरसभाबाट बजेट ल्याउनुपर्ने प्रावधान भए पनि आन्तरिक विवादका कारण धनुषाका ६ वटा स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट नै ल्याउन सकेका छैनन् ।
बजेट ल्याउन नसकेका स्थानीय तहमा मिथिला नगरपालिका, क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, कमला नगरपालिका, हंसपुर नगरपालिका र औरही गाउँपालिका रहेका छन् । यी स्थानीय तहले बजेट तयारी नपुगेको, आन्तरिक विवाद, जनप्रतिनिधिबीचको मतभेद र कार्यपालिका सदस्यको अनुपस्थितिका कारण समयमै बजेट पेश गर्न नसकेको जनाएका छन् ।
नगराइन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामगुलाम लाल कर्णले नगर अधिवेशनको लागि बोलाइएको कार्यपालिका बैठकमा १९ जना सदस्यमध्ये उपप्रमुखसहित १३ जनाको अनुपस्थित रहेकाले बजेट पेस गर्न नसकिएको बताए। उनका अनुसार कार्यपालिका बैठक नै नबस्दा नगरसभामा बजेट पेस गर्न नसकिएको हो ।
त्यस्तै अन्य स्थानीय तहमा पनि प्रमुख तथा उपप्रमुखबीचको समन्वय अभाव, कार्यपालिका सदस्यको असहयोग र विभिन्न विकास योजना तथा बजेट शीर्षकमा मतभेदका कारण निर्धारित समयभित्र बजेट पेस हुन नसकेको बताइएको छ ।
केही स्थानीय तहमा राजनीतिक विवादका कारण निर्धारित समयमा बजेट पेस नहुनु गम्भीर समस्या भएको क्षीरेश्वरनाथ–५ महेन्द्रनगरका युवा रोहित खनालले बताए । समयमै नीति, कार्यक्रम तथा बजेट नल्याउँदा सार्वजनिक सेवा प्रवाह, विकास आयोजना जस्ता महत्वपूर्ण काममा असर पर्न सक्ने उनको भनाइ छ ।
यस्तै मिथिला बिहारी, बटेश्वर, मुखियापट्टी मुसहरनिया, जनकनन्दनी, विदेह र जनकपुरधाम नगरपालिकाले मङ्गलबार बजेट सार्वजनिक गरेका छन् भने लक्ष्मिनियाँ, धनुषाधाम, गणेशमान चारनाथ, सहिदनगर र धनौजी नगरपालिकाले भने त्यसअघि नै आफ्नो नीति, कार्यक्रम तथा बजेट पेस गरिसकेको छन् ।