हुलाक सेवालाई विश्वसनीय र द्रुत बनाउन सके राजस्व बढ्छः मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हुलाक सेवालाई विश्वसनीय, भरपर्दो र द्रुत बनाउन सके राजस्व बढाउन सकिने धारणा व्यक्त गरेका छन् ।
हुलाक सेवा विभागले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षासम्बन्धी अन्तरक्रियामा मन्त्री गुरुङले आधुनिक र स्मार्ट हुलाक बनाउन नयाँ ऐनको आवश्यकता औँल्याए। “हुलाकलाई आधुनिक बनाउन मन्त्रालयले सक्रियताका साथ काम गरिरहेको छ, आधुनिक हुलाक निर्माणका लागि नीति निर्माण अन्तिम चरणमा छ”, उनले भने ।
उनले कर्मचारीको क्षमता वृद्धिमा पनि सुझाव दिए । “हामी यसै वर्ष हुलाक ऐन ल्याउछौँ, स्थानीय हुलाक संरचनालाई अझै प्रभावकारी बनाउने योजनाका साथ काम भइरहेको छ, यसका लागि कर्मचारीहरुको भरपुर सहयोग र साथ चाहिन्छ”, उनले भने। मन्त्री गुरुङले यस वर्षभित्र स्थानीय तहका हुलाक कार्यालयमा कम्तीमा एउटा मोटरबाइक उपलब्ध गराउने समेत उल्लेख गरे । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट हुलाका लागि पर्याप्त बजेट विनियोजन नभए पनि आवश्यकताका आधारमा बजेट थप गर्न र अन्य स्रोत जुटाउन आफूले सक्दो प्रयास गरेको उनको भनाइ छ ।
कार्यक्रममा मन्त्रालयका सह–सचिव कोशहरि निरौलाले मन्त्रालय हुलाक सेवाको वृद्धि र विकासका लागि सधै सकारात्मक रहेको बताउदै हुलाकलाई इकर्मशमा जोड्ने प्रयत्न रहेको बताए । हुलाक विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हुलाक सेवालाई जनताको घरदैलोसम्म पु¥याउन स्थानीय तहसँग सहकार्य गर्दै आएको बताइन् ।