पूर्व शिक्षामन्त्री भट्टराईले भनिन्–शिक्षा विधेयक अनिवार्य र नि:शुल्क शिक्षाको व्यवस्थासँग बाझिनु हुँदैन


काठमाडौं । पूर्व शिक्षामन्त्री एवं नेकपा एमालेकी सांसद विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक अनिवार्य र निशुल्क शिक्षा सम्बन्धी व्यवस्थासँग बाझिन नहुने बताएकी छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयकमाथि उपसमितिले तयार पारेको प्रतिवेदनमाथिको छलफलका क्रममा सांसद भट्टराईले शिक्षा विधेयक संविधानसँग बाझिन नहुने बताएकी हुन् ।
उनले भनिन्, ‘संविधानले अनिवार्य र निस्शुल्क भनेको छ । संविधानको कार्यान्वयन गर्न ऐन बनाउँदै छौं । अनिवार्य तथा निस्शुल्कको व्यवस्था संविधानसँग बाझिनु भएन ।’
सांसद भट्टराईले निजी विद्यालयको क्षेत्रमा के गर्ने भन्ने विषयमा समेत समिति स्पष्ट हुनेपर्ने बताइन् । उनले भनिन्,
‘के गर्ने समिति स्पष्ट हुनुपर्छ । शिक्षा सेवा हो । संविधानले पनि व्याख्या गरेको छ । निजीमा अभिभावकले शुल्क तिरेको छ । सामुदायिकमा सरकारले तिरेको छ ।’