मनास्लुको फेँदमा फुटबल प्रतियोगिता, उपाधि सामा मनास्लुलाई


गोरखा । मनास्लु हिमालको फेँदमा आयोजित सातौँ नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको उपाधि सामा मनास्लु फुटबल क्लवले जितेको छ । प्रोक फुटबल क्लबको आयोजनामा समुद्री सतहबाट ३५०० मिटर उचाइमा अवस्थित चुमनुब्री–२ स्यालामा सम्पन्न प्रतियोगिताको आज भएको फाइनलमा ल्हो पेमा सम्भवा ‘ए’लाई १–० गोलअन्तरले हराउँदै सामा मनास्लुले उपाधि जितेको हो ।
बिजेता सामा मनासलु रु एक लाख ३० हजारसहित ट्रफी, पदक र प्रमाण प्राप्त गरेको नुब्री मनास्लु कपका उपाध्यक्ष लाक्पा दोर्जेले बताए । उपबिजेता ल्हो पेमा सम्भवा ‘ए’ले रु ६५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा तेस्रो स्थानमा रहेको सफल सामा युथ फुटबल क्लवले रु ३५ हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ । साथै प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार दिइएको थियो ।
ल्हो पेमा सम्भवा ‘ए’का उर्गेन लामा प्रतियोगिताका उत्कृष्ट खेलाडी भए । प्रतियोगितामा छ गोल गरेका सामा मनासलु फुटबल क्लवका पेमा नोर्बु सर्वाधिक गोलकर्ता बने भने सोही क्लबका पासाङ नोर्कु लामा उत्कृष्ट गोलरक्षक बने। साथै ल्हो पेमा सम्भवा ‘बि’ फेयर टिम बन्दै रु छहजार पुरस्कार प्राप्त गर्यो ।
महिलातर्फको उपाधि स्याला ‘ए’ले हात पार्यो । आजै भएको फाइनलमा सामा गर्ल्स एफसीलाई ४(० को फराकिलो गोलअन्तरले हराउँदै स्याला ‘ए’ बिजेता बनेको हो । विजेताले रु १८ हजार र उपविजेताले रु १० हजारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ तीन टिमले सहभागिता जनाएका थिए । बिजेताहरुलाई प्रोक फुटबल क्लबका संस्थापक सोनाम दोर्जे रिम्पोछेले पुरस्कार वितरण गरे ।
उत्तरी गोरखा हिमाली भेगका युवाहरुबीच मेलमिलापको भावना विकास गर्न लामा गुरु सोनाम दोर्जे रिम्पोछेले पहिलो पटक २०७३ सालबाट नुब्री मनास्लु कप फुटबल प्रतियोगिताको आयोजना गरेका थिए। त्यसयता प्रत्येक वडाले आलोपालो प्रणालीमा प्रतियोगिता आयोजना गर्दै आएका छन् । प्रतियोगिताको आठौँ संस्करण बिही फुटबल क्लवले आयोजना गर्ने भएको छ ।