गृहमन्त्रीलाई राप्रपाको प्रश्न–भिजिट भिसाको नाममा जनता बेच्नु भएको छ, यसरी बेच्न पाइन्छ ?


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद रोशन कार्कीले गृहमन्त्री रमेश लेखकले भिजिट भिसाको नाममा दैनिक ५० लाख रुपैयाँदेखि १ करोडसम्म असुली गरेको आरोप लगाएकी छन् । शनिवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कार्कीले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले नेपाली जनता बेचेको आरोप लगाएकी हुन् ।
उनले गृहमन्त्रीलाई निकै सोझो ठानेको तर निकै बाठो पाएको समेत बताएकी छन् । सांसद कार्कीले गृहमन्त्री लेखकले आफूलाई सजिलो हुने गरेर छानबिन समिति बनाएको आरोप समेत लगाएकी छन् ।
‘मैले गृहमन्त्रीलाई सोझो ठानेको थिएँ, उहाँ त चम्बु बाठो हुनुहुँदो रहेछ । उहाँले यस्तो समिति बनाउनुभयो कि त्यो समितिबाट उहाँलाई फुत्किन धेरै सजिलो भयो र कमाइलाई पनि बचाउन धेरै सजिलो भयो ।’सांसद कार्कीले भनिन्, ‘धेरै फुर्ती नदेखाउनुहोस्, एक दिन तपाईं पल्लो छेउबाट वल्लो छेउ आउनुहुन्छ त्यतिबेला नेपाली जनतालाई के जवाफ दिनुहुन्छ ? भिजिट भिसाको नाममा दैनिक ५० लाख रुपैयाँदेखि १ करोडसम्म असुली गर्नुभएको छ । नेपाली जनतालाई बेच्नुभएको छ । यसरी बेच्न पाइन्छ ? के यो नैतिकताले दिन्छ ?’