Ad Image

पूर्वराष्ट्रपति भण्डारीको घोषणा–मैले एमालेको पार्टी सदस्यता नवीकरण गरेको छु

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/bidhya bhandari 1.PNG

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा एमालेको पार्टी सदस्यता नवीकरण गरेको जानकारी दिएकी छन् । स्व.मदन भण्डारीको ७४ औं जन्मोत्सवमा आयोजित सभालाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफूले एमालेबाटै राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ पार्टी सदस्यता नवीकरण गरेको बताएकी हुन् ।

उनले आफू एमालेसँग पुन: जोडिएको घोषणा गर्दै यसमा गर्व गर्ने समेत बताइन् । उनले भनिन्, ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अब म एमाले परिवारको एक सदस्यको रूपमा पुन: जोडिएको छु र यसमा म गर्व गर्दछु ।’

पूर्वराष्ट्रपति भण्डारीले मदन भण्डारीका भनाइलाई आदर्श मानेर समर्पित बनिरहेको समेत बताइन् । उनले राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा आफूले भोगेका राजनीतिक उतारचढावले धेरै कुरा सिकाएको बताइन् । 

‘देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो । जननेताले भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुन: स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । यी भनाइलाई आदर्श मानेर समर्पित  बनेकी छु,’ उनले भनिन्, राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा मलाई राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका छन्, बुझाएका छन् र थप परिपक्व समेत बनाएका छन् ।’