पोखराका मेयरले राखे पारिवारिक स्वामित्वको इभेन्ट सेन्टरमा बैठक, कांग्रेसका जनप्रतिनिधि गएनन्


काठमाडौं । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पारिवारिक स्वामित्वको इभेन्ट सेन्टरमा राखेको अन्तर्क्रियात्मक कार्यक्रम विवादिन बनेको छ । शनिवार दिउँसो साढे २ बजेदेखि साढे ५ बजेसम्मका लागि पोखराको बुलौदीस्थित पोखरा इभेन्ट सेन्टरमा मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र नगर सभा सदस्यबीच राखिएको अन्तर्किया कार्यक्रम नगरसभा सदस्यहरुले बहिष्कार गरेका हुन् ।
मेयरका सहोदर भाइ शिव आचार्यको इभेन्ट सेन्टरमा राखिएको कार्यक्रममा महानगरका प्रवक्ता समेत रहेका वडा नम्बर २५ का अध्यक्ष मोतिप्रसाद तिमिल्सिना गएपनि कांग्रेसका अन्य जनप्रतिनिधिले बहिष्कार गरेका छन् ।
फेसबुकमार्फत ३ बुँदे असहमति व्यक्त गर्दै नगरसभा सदस्य पोखरा–४ का प्रकाश कोइराला, पोखरा–१० का पूर्णचन्द्र न्यौपाने, पोखरा–११ का सुशील बास्तोला र पोखरा–३३ का प्रकाश कार्कीले अन्तर्क्रिया बहिष्कार गरेका हुन् ।
पोखरा महानगरपालिकाको कार्यालय र नगरसभा हल बाहिर निजी स्थलमा नगर सभा प्रकृतिका कार्यक्रम आयोजना गरिनु गम्भीर प्रक्रियागत त्रुटि भएको, कारण नखुलाई निमन्त्रणा गरेर निर्णय प्रक्रियामा सीमित भूमिका दिनु अलोकतान्त्रिक अभ्यास भएको र नगरसभासम्बन्धी कुनै पनि बैठक, छलफल, अन्तर्क्रिया वा निर्णय प्रक्रिया नगरसभा हल वा महानगरको आधिकारिक स्थलमै गर्नुपर्ने उनीहरुको भनाइ छ ।