Ad Image

नेपालमा करको दर र दायरा बढी छ, यसलाई घटाउनुपर्छ : प्रभु साह

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prabhu-sah-parliament.jpg

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले सरकारले जनताको रगतपसिना बेचेर भए पनि कर असुल्ने गरेको बताएका छन् । सरकारपिच्छेको कर आतंकले सबै क्षेत्र धराशायी बन्दै गएको भन्दै उनले करको दायरा र शीर्षक घटाउनुपर्ने सुझाव सरकारलाई दिएका छन् । 

प्रतिनिधिसभाको आज ९शनिबार०को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले कयौं कम्पनीले कारोबार नगर्दा वा नाफा नगर्दा समेत सरकारलाई कर तिर्नुपर्ने बाध्यता रहेको बताउँदै यसलाई कर भन्ने की सरकारको लुट भन्ने प्रश्न गरेका छन् । 

 आम्दानीको केही प्रतिशत राज्यलाई बुझाउनु, राज्यले लिनुलाई कर भनिन्छ । आम्दानी होइन, उसको मुल धनलाई जबर्जस्ती लिनु भनेको लुट भन्छ । आज नेपालमा कैयौं कम्पनीहरु कारोबार नै नगरी कर तिरिरहेको छ, आम्दानी नगरे पनि कर तिर्नु परिरहेको छ । कम्पनी खारेज गर्दा पनि कर तिर्नुपरेको छ,’ आजपा अध्यक्ष साहले भने, ‘यसलाई कर भन्ने की लुट भन्ने म प्रश्न गर्न चाहन्छु । यस्ता प्रावधानहरू हटाउन म विशेष माग गर्दछु ।’

 देशमा सरकारपिच्छे सरकारको कर आतंक रहेको उनले बताए । विश्वमै जीडीपीको २० प्रतिशत नबढ्ने गरी कर लगाउने मान्यता रहेको बताउँदै उनले नेपालमा करको दायरा पीडादायी अवस्थामा रहेको बताए । नेपालमा ७ सय ६१ वटा सरकारले कर लिइरहेको र करको दायरा एवं शीर्षक पनि बढी रहेको बताउँदै उनले यसबाट सर्वसाधारण, उद्योगी, व्यापारी लगायतका सबै मारमा परेकोमा चिन्ता व्यक्त गरे । 

‘केन्द्र सरकारले चालु आर्थिक बर्षमा जीडीपी ५७ खर्ब थियो । र केन्द्र सरकारले साढे १४ खर्ब राजस्व उठाउने लक्ष्य राखेको छ । प्रदेशहरूको एकीकृत गर्ने हो भने झण्डै दुई खर्ब र स्थानीयको एकीकृत गर्ने हो भने ३ खर्ब । यि सबैलाई एक ठाउँमा ल्याउने हो भने साढे १९ खर्ब हुन्छ । ५७ खर्बको साढे १९ खर्ब कति हुन्छ एक चोटि बिचार गर्न म अनुरोध गर्न चाहन्छु,’ अध्यक्ष साहले भने, ‘यसरी दुनियाँमा नभएको कथा नेपालमै ल्यायो ।

अरु देशमा दुई टायरको सरकार छ, कर लिने सरकार थोरै छ । एक सय ४५ करोड जनसंख्या भएको भारत जहाँ ३७ वटा सरकारले कर लिन्छ । चीनमा ३४ वटा सरकारले कर लिन्छ । अमेरिकामा ५१ वटा सरकारले कर लिन्छ । तर नेपालमा ७ सय ६१ वटा सरकारले कर लिन्छ । नेपालमा करको शीर्षक पनि बढी छ, दर पनि बढी छ र दायरा पनि बढी छ, निकाय पनि बढी छ । सरकारले यसरी कर लिइरहेको छ की जनताको रगतपसिना बेचेर पनि कर तिर्नुपर्छ । यस्तो अवस्थाको अन्त्य होस् भन्ने मेरो आग्रह छ ।’ 

नेपालमा कर लिने निकाय, करको दर र दायरा बढी भएको उनले बताए । ७ सय ६१ वटा सरकारले कर उठाउने र कर तिरेवापत जनताले केही रिटर्न नपाउने अवस्थाको अन्त्य हुनुपर्ने उनले बताए ।