Ad Image

भ्रष्टाचार विरुद्ध काठमाडौंमा प्रदर्शन गर्दै आईटी आर्मी

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/it-army.jpg

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले लुटकारी दलतन्त्रको अभियानमा अगाडि बढ्न पार्टी निकट आईटी आर्मीका नेता कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । 

आज (शनिबार) पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, काठमाडौंमा आईटी आर्मीको उपत्यका स्तरीय बैठकलाई सम्बोधन गर्दै उनले यस्तो निर्देशन दिएका हुन् । बैठकमा काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका आईटी आर्मीको पदाधिकारिहरुको सहभागिता रहेको थियो । 

अहिलेको लुटकारी दलाल दलतन्त्रको विरुद्धमा आईटी आर्मी सशक्त रुपमा अभियानसहित बढ्न आवश्यक रहेको र त्यसका लागि रणनीति सहित अगाडि बढ्न आजपा अध्यक्ष साहले निर्देशन दिए । मुलुकमा भ्रष्टाचार, अनियमितता, कुशासन, सरकारपिच्छेको कर आतंक बढ्दै गएको अवस्थामा आईटी आर्मी मौन बस्न नसक्ने भन्दै उनले त्यसका विरुद्धमा अभियान सञ्चालन गर्न निर्देशन दिए । 

आजपा अध्यक्ष साहको निर्देशनसँगै सो बैठकले भ्रष्टाचार, अनियमितता, कुशासन एवं सरकारपिच्छे कर आतंकका विरुद्धमा काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय समेत गरेको आईटी आर्मीका उपत्यका इन्चार्ज आर्या पाण्डेले जानकारी दिए । आईटी आर्मीले आउँदो साउन ५ गते काठमाडौंमा विशेष भेला सहित प्रदर्शन गर्ने उनले बताए । 

भ्रष्ट, दलालका विरुद्धमा आईटी आर्मी कडा रुपमा प्रस्तुत हुने उनले बताए । आईटी आर्मीको साउन ५ गते स्थापना दिवस समेत भएकाले सोही दिन काठमाडौंमा विशाल प्रदर्शन सहित विशेष भेला गर्ने निर्णय भएको हो ।  

आईटी आर्मी काठमाडौं उपत्यका विशेष कमिटीका इन्चार्ज आर्या पाण्डेको अध्यक्षतामा बसेको बैठकमा आजपा नेता एवं संविधान सभाका सदस्य तिलक थापामगर, त्रिभुवन साह, आईटी आर्मीका अध्यक्ष चन्द्रभुषण साह, रन्जु साह लगायतको विशेष सहभागिता रहेको थियो ।