सिरहा अस्पतालमा बालकको उपचारको क्रममा मृत्यु, डाक्टरलाई कारवाही गर्न माग गर्दै प्रदर्शन


सिरहा । प्रादेशिक अस्पताल सिरहामा चिकित्सकहरूको लापरबाहीका कारण एकजना बालकको मृत्यु भएको भन्दै आफन्तजनले अस्पतालमा तोडफोडको प्रयास गरेका छन् । सो क्रममा प्रहरी र बिरामीका आफन्तबीच झडप भएको छ ।
झडपको क्रममा प्रहरीसहित केही घाइते भएका छन् । सिरहाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानका अनुसार झडप नियन्त्रणमा लिन एक सेल अश्रुग्यास प्रहार गरिएको छ । दुई दिनदेखि निरन्तर ज्वरो आएपछि आइतबार बिहान अस्पताल भर्ना भएका सिरहा नगरपालिका–६ बसविट्टाका झल्लु महराका छोरा १० वर्षीय राजन महराको साँझ ५ बजेतिर मृत्यु भएको थियो ।
बालकको मृत्युपछि आक्रोशित बनेका आफन्तले चिकित्सकको लापरबाहीका कारण ज्यान गएको आरोप लगाउँदै प्रादेशिक अस्पतालमा होहल्ला तथा तालाबन्दी समेत गरेका हुन् । आफन्तजनले प्रदर्शन गर्दै दोषी चिकित्सक र अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सोहेन्द्र प्रसाद यादवमाथि कारबाहीको माग गरेका छन् । चिकित्सकले समयमा उचित उपचार नगरेकै कारण महराको मृत्यु भएको परिवारजनको आरोप छ।
समयमै डाक्टर आएर उपचार गरेको भए हाम्रो बच्चा बच्थ्यो । मृतकका एक आफन्तले भने, ‘घण्टौंसम्म डाक्टर नआएपछि हामी आँफै भित्र गयौं, त्यतिबेला सम्म बच्चाको अवस्था एकदमै गम्भीर भइसकेको थियो ।’ मृतकको शव हाल पनि अस्पतालमै राखिएको छ। अस्पताल प्रशासनले घटनाबारे छानबिन भइरहेको जनाएको छ ।