टेरामक्स प्रकरण: कांग्रेस नेता मोहन बस्नेतसँग अदालतले माग्यो २५ लाख धरौटी


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रणाली खरिद प्रकरणमा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । विशेष अदालत, काठमाडौंले आइतबार बस्नेतमाथिको थुनछेक बहसपछि आदेश जारी गर्दै २५ लाख धरौटी माग गरेको हो ।
विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, राम बहादुर थापा र विदुर कोइरालाको इजलासले पूर्वसञ्चारमन्त्री समेत रहेका बस्नेतलाई २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
अदालतले उनलाई अहिले नै निर्दोष भन्न नसकिने भन्दै धरौटी जम्मा गर्नुपर्ने आदेश दिएको हो। धरौटी जम्मा नगरे पुर्पक्षका लागि थुनामा पठाउन पनि आदेशमा उल्लेख गरिएको छ।
सिन्धुपाल्चोकका निर्वाचित सांसदसमेत रहेका बस्नेतले सञ्चारमन्त्री हुँदा पदीय दुरूपयोग गरी ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रूपैयाँबराबरको घोटाला गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जेठ १ गते अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।