कञ्चनपुरमा भारी वर्षा : बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह


काठमाडौं । कञ्चनपुर जिल्लाको अधिकांश स्थानमा लगातार भारी वर्षा भइरहेको छ भने थप वर्षा हुने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार लगातारको वर्षाका कारण सो क्षेत्र भएर बग्ने अधिकांश नदी तथा डुबान भइरहने होचा भू–भागमा बाढीको उच्च जोखिम देखिएको छ ।
पछिल्लो २४ घण्टामा कञ्चनपुरको शान्तिपुर बेलौरी स्टेशनमा २६४.६ मिलिमिटर र कृष्णपुर स्टेशनमा १८४ मिलिमिटर वर्षा मापन गरिएको छ ।
महाशाखाले सोमबार बिहान ११ः५० बजे सूचना जारी गर्दै मंगलबार बिहानसम्म उच्च सतर्कताका साथ सुरक्षित स्थानमा बस्न तथा जान आग्रह गरेको छ ।
हाल देशभर मनसुनी वायु सक्रिय रहेको छ । मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ सरेर पश्चिम नेपाल नजिक रहँदा वर्षाको सम्भावना बढेको बताइएको छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने सुदूरपश्चिमका तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । कोशी र कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि हल्का वर्षा मापन गरिएको छ ।