कञ्चनपुरमा ४८ प्रतिशत धान रोपाइँ सम्पन्न


कञ्चनपुर । कञ्चनपुरमा हालसम्म कुल धान खेतीयोग्य क्षेत्रको ४८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।
कृषि ज्ञान केन्द्र कञ्चनपुरका सहायक बाली विकास अधिकृत धर्म साउदका अनुसार जिल्लामा ४८ हजार ४९६ हेक्टर क्षेत्रफलमा धानखेती हुने गर्छ । जसमध्ये हालसम्म २३ हजार २७८ हेक्टर क्षेत्रमा रोपाइँ भइसकेको छ । वर्षा जारी रहेकाले अबको दुई साताभित्र रोपाइँ ८० प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।
प्रतिहेक्टर औसत उत्पादन चार मेट्रिक टन रहेको छ। किसानहरूले विशेषगरी सर्जु–५२ जातको धान बढी रोप्ने गरेका छन् भने राधा–४, सुख्खा–१ र २, बहुगुणीलगायतका जातहरूको पनि खेती गरिँदै आएको छ ।
सिँचाइ सुविधा उपलब्ध भएका क्षेत्रमा चैते धानखेतीसमेत हुँदै आएकाले कुल उत्पादन वृद्धि हुँदै गएको साउदले बताए । महाकाली सिँचाइ आयोजनाको पहुँच पुगेका भीमदत्त नगरपालिका, बेदकोट नगरपालिका, बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकाका केही क्षेत्रमा जेठको अन्तिम सातादेखि नै रोपाइँ सुरु भइसकेको छ ।
सिँचाइ सुविधा नभएका क्षेत्रमा किसानहरू स्यालो ट्युवेल र डिप ट्युवेलको प्रयोग गरी असारको पहिलो सातादेखि खेत हिल्याएर रोपाइँ गर्दै आएका छन् ।
शुक्लाफाँटा नगरपालिका–३ का किसान विलबहादुर चौधरीका अनुसार पर्याप्त वर्षा नहुँदा स्यालो ट्युवेलको सहायताले खेतमा सिँचाइ गरिएको हो । ‘समयमै रासायनिक मल प्राप्त भयो, अनुदानमा ट्युवेल गाडिएको छ, त्यसकै सहारामा रोपाइँ गरिरहेका छौँ,’ उनले बताए ।
लागत बढे पनि समयमै रोपाइँ भएकाले उत्पादन बढ्नेमा आफूहरू आशावादी रहेको उनी बताउँछन् । बीउ, विषादी, कृषि औजार र मेसिनलगायतका सामग्रीमा कृषि ज्ञान केन्द्र तथा पालिकाहरूले अनुदान दिँदै आएका छन् ।
हाल किसानहरूले स्थानीय जातको तुलनामा बढी उत्पादन दिने वर्णशंकर (हाइब्रिड) जातका धान रोपाइँमा प्राथमिकता दिँदै आएका छन् ।