Ad Image

६ महिनामै भत्किएको पुल वर्षदिनसम्म मर्मत नहुँदा स्थानीय जोखिममा

User Image मेयरसाप डेस्क | ४ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/zazazaazz.JPG

सुनसरी । धरान उपमहानगरपालिका–८ स्थित हरियाली तीनढ्वाङ्गे खहरे पुल भत्किएको एक वर्ष बितिसक्दा पनि पुनःनिर्माण नहुँदा स्थानीयवासी ज्यान जोखिममा राखेर दैनिक आवतजावत गर्न बाध्य भएका छन् ।

विसं २०८० चैतमा निर्माण सम्पन्न भएको सो पुल निर्माणपछिको छैटौँ महिनामै भत्किएको थियो । एक वर्षसम्म पनि सम्बन्धित निकायले मर्मत वा पुनःनिर्माणमा चासो नदेखाएकोप्रति स्थानीयले गुनासो गरेका छन् ।

“वर्षदिन भइसक्यो, पैदल नै भए पनि यहीँबाट हिँड्न बाध्य छौँ,” स्थानीय जीवन तामाङले भने, “साना बालबालिका, वृद्धवृद्धा र बिरामीका लागि जोखिम बढ्दो छ । बर्खा सुरु भइसकेकाले खोलामा बाढीको त्रास छ, तर विकल्प छैन ।”

पुल भत्किएपछि पैदल यात्रुहरू जोखिम मोलेर आवतजावत गरिरहेका छन् भने सवारीसाधन वैकल्पिक घुमाउरो बाटो प्रयोग गर्न बाध्य छन् । ७९ वर्षीय स्थानीय अमृत श्रेष्ठले भने, “पुल नहुँदा बिरामी बोकेर अस्पताल लैजान एम्बुलेन्सलाई समेत समस्या भएको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुग्न दूरी बढेको छ ।”

खहरे खोलामा बर्खामा बाढी आउँदा फोहोर पानी मिसिने भएकाले करिब २०० घरधुरी बाढीको जोखिममा परेको वडाध्यक्ष धनबहादुर राईले जानकारी दिए । उनका अनुसार विसं २०१७ मा ब्रिटिस घोपा क्याम्प जान बनाइएको पुरानो पुल मदन भण्डारी राजमार्गको कालोपत्रका क्रममा भत्किएको हो ।

उपप्रमुख आइन्द्रविक्रम बेघाले पुलको स्थलगत निरीक्षण भइसकेको र हाल अस्थायी रूपमा क्याबिन राखी कल्भर्टमार्फत पानी प्रवाह गर्ने तयारी भइरहेको बताए ।

मदन भण्डारी राजमार्ग आयोजनाका इन्जिनियर घनश्याम खड्काका अनुसार, २०८० सालमा पुल ठीकठाक देखिएपछि कालोपत्र गरिएको थियो । तर फलाम पुरानो भएर खिया लाग्दा पुल भाँचिएको हो ।

पछिल्लो बाढीले अस्थायी बाटो समेत बगाएपछि साना सवारीका लागि साइडबाट फलामको अस्थायी पुल बनाइएको उनले जानकारी दिए । स्थायी समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने प्रक्रिया अगाडि बढिरहेको र त्यसपछि नयाँ पुल निर्माण सुरु गरिने उनको भनाइ छ ।

स्थानीयवासीले खोलाको कटान बढ्दै गएको, बस्तीमा पानी पस्न सक्ने र ढल मिसिने जोखिम भएकाले शीघ्र स्थायी पुल निर्माण गर्न आग्रह गरेका छन् । ढिलाइ भए जनधनको क्षति हुन सक्ने चेतावनीसमेत उनीहरूले दिएका छन् ।