बेलौरी र धनगढीमा अति भारी वर्षा


काठमाडौं । कञ्चनपुरको बेलौरी र कैलालीको धनगढीमा अति भारी वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बेलौरीमा २४ घण्टाको अवधिमा २६७ मिलिमिटर र धनगढी विमानस्थल आसपासमा २०२.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।
वर्षासँगै बाढी र डुबानको जोखिम बढेकाले विभागले उच्च सावधानी अपनाउन आग्रह गरेको छ । अति भारी वर्षाका कारण कञ्चनपुरका पुनर्बास, कृष्णपुरलगायतका क्षेत्रका केही घरमा बाढी पसेको छ ।
कृष्णपुर–५ पवित्रबस्तीस्थित आरती विकको घर डुबानमा परेपछि उनका चार जना परिवारलाई प्रहरीले उद्धार गरी नजिकको आधारभूत विद्यालयमा सुरक्षित राखेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिए ।
पुनर्बासमा एउटा र बेदकोट–भिमदत्त सिमानामा पाँच घरमा पनि बाढी पसेको छ । यद्यपि, हालसम्म मानवीय क्षति वा ठूलो भौतिक नोक्सानी नभएको प्रजिअ ढकालले बताए ।