विपद्जन्य सूचना प्रणाली सशक्त बनाउन कार्यवाहक प्रधानमन्त्री र संचारमन्त्रीबीच छलफल


काठमाडौं । विपद्जन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउन कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबीच छलफल भएको छ ।
सहरी विकास मन्त्रालयमा आयोजित छलफलमा विपद् व्यवस्थापनका सन्दर्भमा सञ्चार मन्त्रालयले गर्न सक्ने भूमिका र समन्वयका विषयमा विस्तृत कुराकानी भएको हो ।
यसअघि आइतबार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को बैठकले विपद् जोखिमलाई मध्यनजर गर्दै मौसम पूर्वानुमानपछिको सूचना प्रभावकारी ढंगले प्रवाह गर्ने निर्णय गरेको थियो ।
छलफलका क्रममा जोखिम क्षेत्रमा समयमै चेतावनी पुर्याउन मोबाइल एसएमएस, एफएम रेडियो, सामाजिक सञ्जाल र ‘अर्ली वार्निङ’ प्रणालीमार्फत सूचना प्रवाह गर्न सकिने विषयमा पनि विचार–विमर्श गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
सञ्चारमन्त्री गुरुङले सरोकारवाला निकायहरूसँग समन्वय गरी आवश्यक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यवाहक प्रधानमन्त्री सिंहले मौसम पूर्वानुमान अनुसार पूर्वसूचना प्रभावकारी बनाइएमा संभावित क्षति न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने भन्दै सूचना प्रणालीलाई सशक्त बनाउन जोड दिए ।