Ad Image

सरकारी सेवा–सुविधा फिर्ता गर्दै पूर्वराष्ट्रपति भण्डारी

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Bidhya-devi-bhandari-768x375.png

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किने घोषणा गरेसँगै आफूले पाउने सरकारी सेवा–सुविधा फिर्ता गर्ने तयारी थालेकी छन् ।

भण्डारीनिकट स्रोतका अनुसार उनले शीतल निवास छाडेर आफ्नै निजी निवास फर्किएसँगै पूर्वराष्ट्रपतिका हैसियतमा पाउने धेरै सेवा–सुविधा त्यागिसकेकी छन् । बाँकी सुविधा पनि आगामी साउन १ गतेदेखि लागू हुने गरी औपचारिकरूपमा फिर्ता गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

‘शीतल निवासबाट फर्कंदै उहाँले धेरै सेवा–सुविधा छाड्नुभयो,’ स्रोतले भन्यो, ‘बाँकी सेवा–सुविधा पनि अब फिर्ता गर्दै हुनुहुन्छ।’ हाल भण्डारीलाई सरकारले दुई जना स्वकीय सचिवको तलब तथा सुरक्षाकर्मीका लागि घरको भाडा बेहोर्ने गरेको छ ।

यद्यपि, उनले सवारी साधन नलिए पनि त्यसको इन्धन खर्च सरकारले व्यहोर्दै आएको स्रोतको भनाइ छ । भण्डारीले शीतल निवास छाडेपछि तलब, आवास खर्च लगायतका सुविधा नलिएको पनि स्रोतले स्पष्ट पारेको छ ।

पूर्वराष्ट्रपति भण्डारीले गत असार १४ गते मदन जयन्तीको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमालेको सदस्यता नवीकरण गरेकी थिइन् । सोही दिनदेखि उनले सक्रिय राजनीतिमा पुनः प्रवेश गरेको विषय चर्चामा आउने गरेको छ ।