भारी वर्षापछि धनगढीमा डुबानमा फसेका ८ जनाको उद्धार


धनगढी । कैलाली जिल्लाको धनगढीमा लगातार वर्षापछि घर डुबानमा फसेका आठ जनालाई प्रहरीले उद्धार गरेको छ ।
धनगढी उपमहानगरपालिका–७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंका गाउँका चार जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बेलीका सिताराम रानाको एकतले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्धार गरी नजिकैका आफन्तको घरमा सारिएको छ ।
त्यस्तै, धनगढी–१३ को श्रीलंका निवासी भागीराम चौधरीका परिवारका चार जनालाई उद्धार गरी स्थानीय नवज्योति आधारभूत विद्यालयमा सुरक्षित राखिएको छ ।
लगातार वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झण्डै एक हजार घरमा पानी पसेको जनाइएको छ । प्रभावित वडाहरूमा उपमहानगरपालिका–१, २, ३, ४, ५, ७, ८ र १० नम्बर वडा रहेका छन् ।
प्रहरीका अनुसार हालसम्म कुनै ठूलो क्षति नहुँदा पनि यदि यो वर्षा निरन्तर जारी रह्यो भने थप मानिस प्रभावित हुन सक्ने भएकाले त्यसअनुसार तयारी भइरहेको छ । आइतबार साँझदेखि निरन्तर परेको वर्षाले स्थानीय बासिन्दाहरूमा सतर्कता बढाएको छ ।