Ad Image

बजेटमा बदमासी गरेपछि गण्डकीका अर्थसचिव पाण्डेलाई कारबाही

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/00000--1.jpg

पोखरा । बजेट निर्माणमा भएको अनियमितता र नीतिगत प्रक्रिया उल्लङ्घन गरेको आरोपमा गण्डकी प्रदेशका अर्थ सचिव राजेन्द्रदेव पाण्डेलाई प्रदेश मन्त्रिपरिषद्ले कारबाही गरेको छ ।

आज बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद्को बैठकले सचिव पाण्डेलाई अर्थ मन्त्रालयबाट हटाएर मुख्यमन्त्री कार्यालय मातहतको जगेडामा तान्ने निर्णय गरेको हो। मुख्यमन्त्री कार्यालयका एक उच्च कर्मचारीका अनुसार, ‘उहाँलाई कारबाही स्वरूप अर्थ मन्त्रालयको जिम्मेवारीबाट हटाइएको हो। बजेटमा भएको गलत गतिविधि सम्बन्धी आन्तरिक छानबिन जारी रहनेछ।’

पाण्डेलाई विकास कार्यक्रम तयार गर्ने क्रममा विषयगत मन्त्रालयको सिफारिस बिना योजना समावेश गरेको, नीतिगत प्रक्रिया उल्लङ्घन गरेको, र आफ्नो जन्मस्थान भानु नगरपालिकामा अत्यधिक बजेट केन्द्रित गरेको आरोप लागेकाे छ ।

विशेषगरी तनहुँको भानु नगरपालिका, विशेष गरी चितिखोला क्षेत्रका दर्जनौँ योजनामा झन्डै ३३ करोड रुपैयाँ विनियोजन गरिएको तथ्य सार्वजनिक भएको थियो । बेलीब्रिज निर्माण, मोटरबाटो, सिँचाइ, खानेपानी, म्याराथन, र वृत्तचित्र निर्माणजस्ता योजनामा बजेट ३३ करोड रूपैयाँ खन्याइएको थियो ।

यस विषयमा प्रदेशसभा सांसदहरूले समेत प्रश्न उठाएका थिए । जवाफमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार संवेदनशील रहेको र छिट्टै यसको परिमाण देखिने बताएका थिए ।