काठमाडौं महानगरद्वारा मापदण्ड विपरीतका ४४ पानी जार जफत


काठमाडौं । सहरबासीलाई पिउने पानी उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा रहेका प्रशोधित पानी सेवा व्यवसायीका सवारी साधनहरूको अनुगमनका क्रममा मापदण्ड विपरीतका ४४ वटा जार जफत गरिएको छ ।
काठमाडौं महानगरपालिकाको कृषि तथा पशुपन्छी विकास विभागले आज गोङ्गबु बसपार्क क्षेत्र आसपास गरेको अनुगमनमा कुच्चिएका, फुटेका र अपारदर्शी जार फेला परेका हुन् । ती जार महानगर प्रहरीको जिम्मा लगाई नष्ट गरिनेछ ।
अनुगमनका क्रममा पानी बोकेको सवारी साधनमा विभिन्न कम्पनीका त्रुटिपूर्ण जार प्रयोग भइरहेको पाइएको थियो ।
महानगरले मापदण्डविपरीत जार बिक्री तथा वितरण नगर्न, प्रत्येक जारमा स्पष्ट विवरणसहितको लेबल राख्न र सवारीमा अनिवार्य रूपमा बिल–बिजक साथमा राख्न सम्बन्धित पानी उत्पादक कम्पनीहरूलाई निर्देशन दिएको छ ।
पानीजन्य रोगको जोखिम बढ्ने वर्षायाममा नागरिकको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै काठमाडौँ महानगरपालिकाले आजदेखि पिउने पानीको उत्पादन, ढुवानी र वितरण प्रणालीको कडाइका साथ अनुगमन सुरु गरेको हो ।