Ad Image

क्षेत्रगत सुझाव र सहकार्यको प्रतिबद्धतासँगै सकियो शैक्षिक सम्मेलन

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/0 a.jpeg

काठमाडौं । काठमाडौं महानगरपालिकाले आयोजना गरेको दुईदिने शैक्षिक सम्मेलनले नवप्रवर्तनमा आधारित शिक्षाका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न केन्द्रीय नीतिलाई स्थानीय सन्दर्भमा रुपान्तरण गर्नुपर्ने सुझाव दिएको छ ।

‘एजुकेशनल कन्फरेन्स अन इनेब्लिङ इनोभेसन्स इन एजुकेसन प्लानिङ एण्ड इम्प्लिमेन्टेसन’ शीर्षकमा आयोजित सम्मेलनमा बालमैत्री पूर्वाधार निर्माण, शिक्षक क्षमता विकास, अभिभावक शिक्षा, बालबालिकामैत्री सिकाइ वातावरण, र समावेशी शिक्षाको महत्वमा जोड दिइएको थियो ।

सम्मेलनमा भुटान, भारत, बङ्गलादेश, श्रीलंका, अमेरिका र क्यानाडालगायत देशका शैक्षिक विज्ञहरूको सहभागिता थियो । उनीहरूले काठमाडौं महानगरपालिकाको ’पुस्तकरहित शुक्रबार’ जस्ता अभ्यासको प्रशंसा गर्दै यस्ता कार्यक्रम संस्थागत गर्नुपर्नेमा जोड दिएका थिए ।

सम्मेलनमा प्रारम्भिक बालविकास, समावेशी शिक्षा, मानसिक स्वास्थ्य, शिक्षकको वृत्ति विकास, मूल्याङ्कन प्रणाली सुधार, समस्या समाधानमुखी सिकाइ, अभिभावक शिक्षा, र शिक्षामा नवप्रवर्तनका विविध पक्षमा विचार–विमर्श गरियो ।

महानगरले शिक्षा रुपान्तरणका लागि पूर्वाधार, शैक्षिक सामग्री, मानव पुँजी विकास र सुशासनमा लगानी बढाएको छ । ’बुक फ्री फ्राइडे’, सिर्जनात्मक सिकाइ, सिप शिक्षा, स्मार्ट कक्षा, शिक्षक कलेज कार्यक्रमजस्ता पहलमार्फत गुणस्तरीय शिक्षा प्रवद्र्धन गर्न थालेको छ ।

सम्मेलनको निष्कर्षमा सबै तहका सरकार, विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक, र साझेदारबीच सहकार्य अपरिहार्य रहेको र शिक्षालाई व्यवहारिक, सान्दर्भिक र आनन्ददायक बनाउने प्रयासलाई अझ सशक्त बनाउने आवश्यकता औंल्याइएको छ ।