धरानमा श्रमदानका क्रममा बालिकामाथि यौन दुर्व्यवहार, १ जना पक्राउ


काठमाडौं । धरानमा श्रमदानका क्रममा १२ वर्षीया बालिकामाथि यौन दुव्र्यवहार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । धरान–१७ पृथ्वीचोक निवासी ४९ वर्षीय खगेन्द्र राईलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो ।
घटना धरान–१६ मा बहुभाषिक पाठशालाको संरक्षणका लागि सञ्चालित श्रमदानका बेला भएको हो । मेयर हर्क साम्पाङको नेतृत्वमा सुरु भएको श्रमदान अभियानका क्रममा राई श्रमदाताहरूका लागि खाना पकाउने जिम्मेवारीमा थिए । बालिका आफ्नी आमासँग श्रमदानमा सहभागी भएकी थिइन् ।
प्रहरीका अनुसार राईले बालिकालाई फकाएर खोल्सातिर लगी यौन दुव्र्यवहार गर्ने प्रयास गरेको आरोप छ । बालिकाकी आमाले तत्काल प्रतिवाद गर्दै राईमाथि कुटपिट गरेकी थिइन् । घटनापछि पीडित पक्षले राईविरुद्ध किटानी जाहेरी दिएका थिए, जसको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
पीडित पक्षले घटनामा संलग्न व्यक्तिलाई जोगाउने प्रयास गरिएको आरोप पनि लगाएको छ । घटनालाई दबाउन खोजेको भन्दै श्रमदाता कुन्दन श्रेष्ठ र समीर तामाङविरुद्ध समेत किटानी जाहेरी परेको प्रहरीले जनाएको छ ।
पीडित परिवारका अनुसार श्रेष्ठले घटनालाई सामान्य विषय भन्दै प्रहरीमा नजान दबाब दिएका थिए । ‘बच्चीको बदनाम हुन्छ, लुकाउनु पछ’ भन्ने किसिमको भनाइ आएको परिवारको आरोप छ ।