सरकारी कर्मचारीमा समर्पणको भावना छैन : पर्यटनमन्त्री पाण्डे


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूमा समर्पणको भावना कमजोर रहेको टिप्पणी गरेका छन् । शुक्रबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले सरकारी सेवामा दक्षता र प्रतिबद्धताको अभाव रहेको जनाउँदै सुधार आवश्यक भएको धारणा व्यक्त गरे ।
बैठकमा सांसदहरूले नेपाल वायुसेवा निगमको आर्थिक स्थिति, जनशक्ति व्यवस्थापन र नाफाको विषयमा प्रश्न उठाएका थिए । निजी वायुसेवा कम्पनीहरूले कम जनशक्तिमा पनि नाफा आर्जन गरिरहेको सन्दर्भमा सांसदहरूले निगमको तुलनात्मक कमजोरीबारे जिज्ञासा राखेका थिए ।
जवाफमा मन्त्री पाण्डेले नेपाल एयरलाइन्स निगमले आफ्नै मात्र नभई अन्य वायुसेवा कम्पनीहरू जस्तै हिमालय एयरलाइन्सको समेत ग्राउन्ड ह्यान्डलिङ सेवा उपलब्ध गराउने भएकाले बढी जनशक्ति आवश्यक परेको स्पष्ट पारे । “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वार्षिक ९५ लाख यात्रु ओहोरदोहोर गर्छन्। यति धेरै कामको भार निगममा पर्छ,“ उनले भने ।
उनले निजी वायुसेवा कम्पनीहरूले कम जनशक्तिमा दक्षतापूर्वक सेवा दिइरहेको उल्लेख गर्दै सरकारी क्षेत्रमा त्यसको अभाव देखिएको बताए । “सरकारी काममा समर्पणको भावना देखिँदैन। यही सुशासनको पक्ष हो, जसमा सुधार आवश्यक छ,“ मन्त्री पाण्डेले स्पष्ट पारे ।
नेपाल एयरलाइन्समा आवश्यकता भन्दा बढी जनशक्ति राखिएको विषयमा सरकार गम्भीर रहेको भन्दै मन्त्री पाण्डेले कर्मचारी सेवा–सर्तसम्बन्धी विनियमावली निर्माणको प्रक्रिया अगाडि बढिरहेको जानकारी पनि दिए । उनका अनुसार, दक्षता, व्यावसायिकता र उत्तरदायित्वलाई प्राथमिकता दिँदै संस्थागत सुधारको तयारी भइरहेको छ ।