लक्जेम्बर्ग पठाइदिन्छु भन्दै १२ लाख ठगी गर्ने एक जना पक्राउ


काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारी लक्जेम्बर्ग पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा नवलपरासी पश्चिम सरावल गाउँपालिका–२ का ४० वर्षीय भूपनारायण चौधरीलाई पक्राउ गरिएको छ ।
चौधरीले लक्जेम्बर्ग पठाइदिन्छु भन्दै दुई जना पीडितबाट रु १२ लाख लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीका आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बिहीवार ललितपुर महानगरपालिका–४ बाट पक्राउ गरेको हो ।
यसैबीच, बैङ्किङ कसुर मुद्दाका दुई जना फरार प्रतिवादी पनि पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुली दुधौली नगरपालिका–८ घरका ३० वर्षीय प्रलाद खड्का र हेटौँडा उपमहानगरपालिका–४ घर भएका ३६ वर्षीय सुनिल लामालाई पक्राउ गरिएको हो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रलादलाई काठमाडौँ महानगरपालिका–७ चावहिल गङ्गाहिटीबाट बिहीबार र सुनिललाई चन्द्रागिरि नगरपालिका–५ गुर्जुधाराबाट शुक्रबार पक्राउ गरेको हो । पक्राउमध्ये प्रलादलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र सुनिललाई इलाका प्रहरी कार्यालय सिमरा बारा पठाइएको छ ।
–––