काठमाडौं भ्यू टावरका ठेकेदार भेटवाल एक हप्तामै रिहा


काठमाडौं । करिब १० करोड रुपैयाँको चेक बाउन्स मुद्दामा पक्राउ परेका काठमाडौं भ्यू टावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका एक हप्तामै रिहा भएका छन् ।
उनी असार १३ गते पक्राउ परेपछि सोही दिनबाट गणना हुनेगरी १५ गते ६ दिनको म्याद थप गरिएको थियो । तर, म्याद सकिएपछि जिल्ला अदालत काठमाडौंले स्वास्थ्य कारण देखाउँदै थप म्याद नदिएपछि असार १९ गते भेटवाल छुटेका हुन् ।
पक्राउ परेपछि भेटवाल तत्कालै अस्पताल भर्ना भएका थिए र अस्पतालबाटै अदालतमा उपस्थित भएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार अदालतले म्याद थप नगरेपछि प्रहरीको तर्फबाट थप कारबाही अगाडि बढाउन नसकिने अवस्था भयो ।
चेक बाउन्सको उजुरीका आधारमा पक्राउ परेका भेटवालको रिहाइसँगै उनीविरुद्धको कारबाही प्रक्रियामा पुनः अन्य कदम चालिने कि भन्ने विषयमा स्पष्टता छैन ।