Ad Image

एनपीएल छानबिन कार्यदललाई राखेपको लेटरहेड प्रयोग नगर्न निर्देशन

User Image मेयरसाप डेस्क | ८ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rakhepa.JPG

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सम्बन्धी अनियमितताको छानबिन गर्न गठित कार्यदलले अबदेखि राष्ट्रिय खेलकुद परिषद (राखेप)को नाम र लेटरहेड प्रयोग गर्न नपाउने भएको छ ।

राखेपले कार्यदललाई निर्देशन दिँदै परिषदको अधिकार क्षेत्र बाहिर गएर कुनै पनि पत्राचार नगर्न भनेको हो । सो निर्देशन कार्यदलले परिषदको लेटरहेड प्रयोग गरी नेपाल क्रिकेट संघ (क्यान)लाई एउटा विवादास्पद निर्देशन पठाएपछि आएको हो ।

कार्यदलकी संयोजक रञ्जना प्रधानको हस्ताक्षरसहित परिषदको लेटरहेडमा पठाइएको उक्त पत्रमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन नसकिएसम्म एनपीएलका कुनै पनि गतिविधि नगर्न तथा नगराउन क्यानलाई निर्देशन दिइएको थियो । उक्त पत्रप्रति राखेपभित्रै असन्तुष्टि व्यक्त भएपछि परिषदका सदस्य सचिव टंकलाल घिसिङले कार्यदलको कार्यशैलीप्रति आपत्ति जनाएका छन् ।

परिषदले शुक्रबार प्रेस नोट जारी गर्दै क्यानलाई पठाइएको पत्र राखेपको आधिकारिक पत्र नभएको प्रस्ट पारेको छ । साथै, कार्यदललाई तोकिएको कार्यादेश (टीओआर) भित्र रहेर मात्रै काम गर्न, परिषदको नाम प्रयोग गरेर जनस्तरमा भ्रम फैलिने कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको छ ।