Ad Image

सरकारी भुक्तानीको अन्तिम दिन : आजै १ खर्ब ९५ अर्बमाथि खर्च गर्नुपर्ने

User Image मेयरसाप डेस्क | ७ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/mahalekha-1720927792.jpg

काठमाडौं । आर्थिक वर्ष २०८१\८२ को अन्त्यसँगै आज सरकारका लागि खर्च भुक्तानी गर्ने अन्तिम दिन हो । महालेखा नियन्त्रक कार्यालयले असार २५ पछि चेक जारीमा रोक लगाएपछि अत्यावश्यक बाहेक सबै भुक्तानी बुधबारभित्र गर्नुपर्नेछ ।

मंगलबारसम्म कुल बजेटको ७८.८४ प्रतिशत अर्थात् १४ खर्ब ६६ अर्ब ५८ करोड रुपैयाँ खर्च भइसकेको छ । यद्यपि, सरकारले संशोधित अनुमानअनुसार १६ खर्ब ६२ अर्ब ३७ करोड खर्च गर्ने लक्ष्य राखेको छ ।

संशोधित लक्ष्य भेट्टाउन बुधबार मात्रै १ खर्ब ९५ अर्ब ७९ करोड रुपैयाँ खर्च गर्नुपर्ने देखिएको छ । यसमा सबैभन्दा ठूलो हिस्सा पुँजीगत खर्च (१ खर्ब ७ अर्ब २५ करोड) रहेको छ भने चालु तर्फ ४५ अर्ब ४७ करोड र वित्तीय व्यवस्थातर्फ ४२ अर्ब ५० करोड रुपैयाँ खर्च गर्नुपर्नेछ ।

तर हालसम्म पुँजीगत खर्चको कार्यान्वयन दर ५२.९६ प्रतिशतमै सीमित छ, जसले अन्तिम दिन खर्चको चाप उच्च हुने देखिन्छ ।