Ad Image

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Aalu Bikri Gardai {Khotang}.jpg

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युवा किसान धर्मराज राईले बाँझो जमिन भाडामा लिएर व्यावसायिक आलुखेती सुरु गरेका छन् र पहिलो वर्ष नै चार हजार किलो आलु उत्पादन गरेका छन् । 

उनले सोही नगरपालिकाको वडा नं २ मुडेका दोर्जी शेर्पाको कुनाखर्कमा रहेको २५ रोपनी बाँझो जमिन १० वर्षका लागि भाडामा लिएर यो खेती सुरु गरेका हुन् । १२ वर्षदेखि जिल्लामै अग्र्यानिक तरकारी तथा फलफूलखेती गर्दै आएका धर्मराजले उत्पादन गरेको आलु प्रतिकिलो ४५ रुपैयाँमा बिक्री भइरहेको छ ।

उनले ’झिसेपु अग्र्यानिक कृषि फार्म’ दर्ता गरेर यो व्यवसाय सञ्चालन गरिरहेका छन् र तीन युवालाई रोजगारीसमेत दिएका छन् । उत्पादित आलुमध्ये एक हजार किलो बीउका लागि राखेर बाँकी बिक्री गर्ने तयारी छ । करिब २ हजार ८०० किलो आलु दिक्तेल बजारका होटल तथा पसलमा बिक्री भइसकेको छ ।

धर्मराजले करिब ३०–४० वर्षदेखि बाँझो रहेको जमिन खनजोत गरी गत माघमा ६०० किलो भोटाङ्गे जातको आलुको बीउ रोपेका थिए । अग्र्यानिक आलु उत्पादनका लागि उनले पाँच राँगा÷भैँसीको मलमूत्रसहित स्याउला र पत्कर प्रयोग गरेर बनाएको मल प्रयोग गर्दै आएका छन् । कुनाखर्कमा उत्पादित अग्र्यानिक आलुलाई खोटाङको ब्राण्ड बनाउने उनको लक्ष्य छ ।

करिब ११ लाख रुपैयाँ लगानीमा सुरु गरिएको यो आलुखेतीलाई आगामी वर्षदेखि थप विस्तार गर्ने र आलुसँगै पशुपालन तथा तरकारी खेती गर्ने योजना धर्मराजको छ । कोशी प्रदेश सरकारको कृषि ज्ञान केन्द्र इलाममार्फत उनले दुई वर्षअघि २ लाख रुपैयाँ अनुदान पनि प्राप्त गरेका थिए ।

धर्मराजले सुरुमा झिसेपुस्थित आफ्नै जग्गामा किबी, अलैँची, बेसार र अम्रिसोको व्यावसायिक खेती गरेका थिए । १५ वर्षदेखि कृषि पेसामा आबद्ध उनले जिल्लाका अन्य किसानलाई तालिमसमेत दिँदै आएका छन् । उनको फार्म सञ्चालनमा श्रीमती र छोराछोरीले पनि साथ दिँदै आएका छन् ।