Ad Image

मकवानपुरको बालगृहमा १७ वर्षीया किशोरीमाथि बला*त्कार

User Image मेयरसाप डेस्क | ६ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/rape.jpg

हेटौँडा । मकवानपुरको कैलाश गाउँपालिका–३ मा सञ्चालित एक बालगृहमा आश्रय लिएकी १७ वर्षीया किशोरीमाथि पटक–पटक बलात्कार गरेको अभियोगमा बालगृहका प्रमुख अधिकृत मधुसूदन राउत पक्राउ परेका छन् ।

सांग्रिला डेभलपमेन्ट एसोसिएसनद्वारा सञ्चालित बालगृहका ४८ वर्षीय राउतलाई प्रहरीले शुक्रबार काठमाडौँको काँडाघारीबाट नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार राउतलाई शनिबार मकवानपुर ल्याइएको छ र आइतबार म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइनेछ ।

पीडित किशोरी विगत ४ वर्षदेखि सो बालगृहमा बस्दै आएकी थिइन् । उनको बुबाको दुर्घटनामा मृत्यु भएको र आमा सम्पर्कविहीन भएपछि कमजोर आर्थिक अवस्थाका कारण उनलाई बाल संरक्षणको उद्देश्यले खोलिएको होस्टेलमा राखिएको थियो ।

किशोरीले दिएको जाहेरी अनुसार, जेठ १ देखि ८ गतेसम्मको अवधिमा राउतले बालिकालाई पटक–पटक जबरजस्ती करणी गरेका थिए । असार ८ गते किशोरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राउतविरुद्ध जाहेरी दर्ता गरेकी थिइन् ।

घटना सार्वजनिक भएपछि बालगृहको व्यवस्थापन र सुरक्षा स्थितिमाथि प्रश्न उठेको छ । प्रहरीले बालगृहमा रहेका अन्य बालबालिकाको अवस्थाबारे पनि अनुसन्धान सुरु गरेको जनाएको छ ।