Ad Image

दोगडाकेदार गाउँपालिकामा दर्ता शिविरमार्फत राष्ट्रिय परिचयपत्रकाे विवरण सङ्कलन

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/sibir.PNG

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा दर्ता शिविरमार्फत राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम सञ्चालन गरिएको छ । गाउँपालिका कार्यालयमा असार २५ गतेदेखि सुरू भएको विवरण सङ्कलनको काम साउन २० गतेसम्म सञ्चालन हुने भएको हो । 

हालसम्म १४३ जनाको विवरण सङ्कलनको काम भएको रूजी अधिकारी तुलाराम भट्टले जानकारी दिए। ज्येष्ठ नागिरक र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीलाई लक्षित गर्दै दर्ता शिविरको आयोजना गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्रबहादुर कार्कीले बताए ।

यसअघि राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन जानुपर्ने बाध्यता थियो । उनले भने, “जिल्ला प्रशासन जान समस्या हुने ज्येष्ठ नागिरक र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीलाई लक्षित गर्दै दर्ता शिविरको आयोजना गरेका हौँ । दर्ता शिविरले गाउँपालिकामै सहजै रूपमा परिचयपत्र विवरणको काम भइरहेको छ ।”

बैङ्क खाता खोल्दा तथा सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि अनिवार्य रूपमा राष्ट्रिय परिचयपत्र हुनुपर्ने भनिएको छ । धेरै लाभग्राहीको राष्ट्रिय परिचयपत्र नहुँदा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नबाट वञ्चित हुने अवस्था आए पनि दोगडाकेदार गाउँपालिकाले दर्ता शिविरको आयोजना गरेको हो ।

गाउँपालिकामै राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा स्थानीय बासिन्दा खुसी भएका छन् । हजारौँ खर्च गरेर परिचयपत्रकै लागि सदरमुकाम जानुपर्ने बाध्यतामा रहेका नागरिक गाउँपालिकामा परिचयपत्र बनाउन पाउँदा खुसी भएका हुन् ।

गाउँपालिकामा नै राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा खुसी लागेको स्थानीय फङ्के भाटले बताए । उनले भने, “परिचयपत्र बनाउनकै लागि सदरमुकाम जानुपर्ने बाध्यता थियो, गाउँपालिकाले शिविर सञ्चालन हुँदा सदरमुकामको जानुपर्ने बाध्यता हटेको छ ।”

शिविरमा राष्ट्रिय परिचयपत्र बनाउनेको भीड समेत बढ्न थालेको छ । राष्ट्रिय परिचयपत्र बनाउन छुटेका नागरिकलाई शिविरमा आएर परिचयपत्र बनाउन आग्रह गरिएको दोगडाकेदार गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताए।

शिविरमा परिचयपत्र बनाउन ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशीले जानकारी दिए । दुर्गमका नागरिकलाई राष्ट्रिय परिचयपत्र बनाउनकै लागि सदरमुकाम आउन झन्झट हुने भएकाले गाउँपालिकामा नै टोली पठाएको प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए । 

उनले भने, “सामाजिक सुरक्षा भत्ता बुझ्न, बैङ्क खाता खोल्नलगायतका काममा राष्ट्रिय परिचयपत्र अनिवार्य भनेको छ । त्यसका लागि धेरैको परिचयपत्र नहुँदा समस्या देखिएको गुनासो आएपछि गाउँपालिकामा नै टोली पठाएर विवरण सङ्कलनको काम थालेका हौँ ।”

हाल जिल्लाको दोगडाकेदार र पाटन नगरपालिकामा विवरण सङ्कलनको काम भइरहेको छ । जिल्लाका अन्य स्थानीय तहहरूमा पनि स्टेसन स्थापना गरेर राष्ट्रिय परिचयपत्र विवरण सङ्कलनको काम थालिने प्रजिअ पौडेलले बताए । उनले भने, “हाल  दोगडाकेदार र पाटनमा विवरण सङ्कलनको काम भइरहेको छ । पूर्वाधारको व्यवस्थापन  र इन्टरनेटको व्यवस्था भएका अन्य पालिकामा पनि टोली परिचालन गर्छौँ ।”