ओलीसँग एमालेको अध्यक्ष भिड्न इश्वर पोखरेल तयार, अध्यक्षमा उम्मेदवारीको घोषणा

User Image मेयरसाप डेस्क | २०८२ मंसिर ९ गते ०१:३९
Image of https://mayorsap.com/storage/photos/shares/oli-ishwor.png

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी खुलस्त घोषणा गरेका छन्। सोसँगै अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी नेतृत्वका लागि प्रत्यक्ष प्रतिस्पर्धा हुने संकेत स्पष्ट भएको छ।

पोखरेलले शुक्रबार सार्वजनिक गरेको वक्तव्यमार्फत आफूले संगठन निर्माणमा गरेको योगदान, देशभरबाट प्राप्त सुझाव र आग्रहका आधारमा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने निष्कर्षमा पुगेको उल्लेख गरेका छन्। उनले भनेका छन्, “पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरका साथीहरूले गरेको आग्रह स्वीकारेर अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको हुँ।”

उनले क्षमता, योग्यता र रुचिअनुसार जिम्मेवारी बाँडफाँड गर्दै सामूहिक नेतृत्वमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकसित गर्ने आफ्नो प्राथमिकता रहेको स्पष्ट पारेका छन्।

एमालेको ११ औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने छ। महाधिवेशनका प्रतिनिधि चयन भने मंसिर १३ मा देश तथा प्रवासमा एकैसाथ हुँदैछ। प्रतिनिधि छनोटमा स्वस्थ, मर्यादित र निर्भय सहभागिता जनाउन उनले सबै सदस्यलाई आह्वान गरेका छन्।

पार्टी र राष्ट्रहितलाई सर्वोपरी राखेर अघि बढ्नुपर्ने उल्लेख गर्दै पोखरेलले महाधिवेशनमा प्रस्तुत गर्न लागिएको आफ्नो राजनीतिक तथा संगठनात्मक दृष्टिकोणसम्बन्धी विस्तृत दस्तावेज चाँडै सार्वजनिक गर्ने बताएका छन्।

यससँगै एमाले नेतृत्व परिवर्तनको राजनीतिक बहस तीव्र बनेको छ र ओली–पोखरेल प्रतिस्पर्धा महाधिवेशनको प्रमुख केन्द्रविन्दु बन्ने संकेत देखिएको छ।


Facebook Comments