७ करोड लागतमा हतुवागढी गाउँपालिकाको २८ कोठे भवन निर्माण हुँदै


भोजपुर । जिल्लाको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित रु सात करोड ५० लाख ४४ हजार १३७ को लागतमा निर्माणाधीन भवनको काम अन्तिम चरणमा पुगेको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार भवनको काम ९० प्रतिशतभन्दा बढी पूरा भएको छ । आगामी भदौसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
भवन गाउँपालिकाको ४० प्रतिशत र केन्द्र सरकारले ६० प्रतिशत लगानी गर्ने गरी निर्माण थालिएको हो । केन्द्र सरकारले हालसम्म साझेदारी रकमको रु दुई करोड ३७ मात्र प्राप्त भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । गाउँपालिकाले रु पाँच करोड लगानी गरिसकेको छ । गाउँपालिका भवन निर्माणको लागि हालसम्म रु छ करोड ९० भुक्तानी भइसकेको उनले बताए ।