Ad Image

गत आर्थिक वर्षमा ४ अर्ब ५२ करोड बढी राजस्व सङ्कलन

User Image मेयरसाप डेस्क | ५ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/chitawan rajaswa karyalaya.jpg

चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष २०८०\८१ को भन्दा आव २०८१\८२ मा रु चार अर्ब ५२ करोड २५ लाख बढी राजस्व सङ्कलन गरेको छ ।

अघिल्लो आवमा रु २० अर्ब ५६ करोड ७८ लाख ५७ हजार राजस्व सङ्कलन भएकामा गत आवमा रु २५ अर्ब नौ करोड सात लाख ३२ हजार सङ्कलन भएको हो ।

कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार गत आर्थिक वर्षमा लक्ष्यको ९४ दशमलव ८९ प्रतिशत राजस्व सङ्कलन भएको छ । अघिल्लो आवमा लक्ष्यको ७३ दशमलव ६४ प्रतिशत मात्रै सङ्कलन भएको थियो । आव २०७९\८० मा लक्ष्यको ७७ दशमलव ९४ प्रतिशत राजस्व संकलन भएको उनले जानकारी दिए ।

कार्यालयले गत आर्थिक वर्षमा सुरुवाती समयदेखि साना तथा ठूला सबै करदाताको विवरण अध्ययन गरी आवश्यक राजस्व सङ्कलनमा जोड दिएको जनाएको छ । कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले कर नतिर्ने करदातालाई घरघरमा पत्राचार गरेर करसङ्कलन अभियानलाई तीव्रता दिइएको बताए ।

कार्यालयले करदातालाई टेलिफोन गरेर कार्यालयमा बोलाई राजस्व तिर्न प्रोत्साहन गरेको थियो । उद्योग वाणिज्यसँग सम्बन्धित सङ्घसंस्थासँग सहकार्य गरेर करशिक्षा कार्यक्रमसमेत आयोजना गरिएको उनको भनाइ छ ।

कर नतिर्ने करदातालाई कालोसूचीमा राख्ने काम गरिएको बताउँदै प्रमुख खड्काले कोभिडपछि कार्यालयले आव २०८१\८२ मा सबैभन्दा बढी राजस्व सङ्कलन भएको जानकारी दिए ।