Ad Image

सरकार ढाल्न प्रचण्डलाई शेखरको ‘ग्रिन सिग्नल’: राजनीतिक वृत्तमा खैलाबैला !

User Image मेयरसाप डेस्क | ३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/prachand-sekhar.jpg

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वर्तमान केपी ओली नेतृत्वको सरकार ढाल्नका लागि प्रयास गर्न सुझाव दिएका छन् ।

बिहीबार प्रचण्ड निवास खुमलटारमा भएको दुई घण्टा लामो भेटवार्तामा कोइरालाले यो प्रस्ताव राखेका हुन् । स्रोतका अनुसार, छलफलका क्रममा प्रचण्डले कोइरालालाई ‘जनताको आशा तपाईंसँग छ’ भन्दै तर कांग्रेसमा संसदीय दलको नेता नभई प्रधानमन्त्रीको उम्मेदवार बन्न नसकिने कुरा उठाएका थिए ।

यसको जवाफमा शेखरले भने, ‘पहिला यो गठबन्धन सरकार प्रमुख प्रतिपक्षी दलको नेता भएकाले ढाल्ने प्रयास गर्नुस् न । त्यसपछि पो नयाँ खेलहरू सुरु हुन्छन् । दलको नेता, प्रधानमन्त्री को बन्ने र कसरी अघि बढ्ने भन्ने कुरा हुन्छ।’

कोइरालाले भेटमा कांग्रेस र एमाले मिलेर बलियो गठबन्धनको सरकार बनाउन आफू नै लागेको भए पनि यस्तो सरकार बने पनि जनताले एक वर्षसम्म आशा गर्ने ठाउँ नपाएको टिप्पणी गरेका थिए । जवाफमा प्रचण्डले आफूले सुशासनका लागि काम गर्दागर्दै गर्न नदिइएको धारणा राखेको कोइराला निकट नेताहरूले बताए ।

बिहीबार खुमलटारमा भएको प्रचण्ड र शेखर कोइरालाबीचको २ घण्टा लामो गोप्य भेटवार्ताले राजनीतिक वृत्तमा खैलाबैला मच्चाएको छ । शेखरले प्रचण्डलाई दिएको 'गोप्य अफर'ले ओली नेतृत्वको गठबन्धनमा धक्का लाग्ने देखिएको छ । सरकार ढाल्नका लागि शेखरले प्रचण्डलाई 'ग्रिन सिग्नल' दिएको र यस्तो प्रस्तावले ओली सरकार ढालेर नयाँ राजनीतिक कोर्सको तयारी भइरहेको कतिपयको भनाइ छ ।