झापाको बिजनेस टावर पर्यटकको आकर्षण केन्द्र बन्दै


झापा । झापाको दमक नगरपालिका–३ दापगाँछीमा निर्मित दमक व्यापारिक कम्प्लेक्स (बिजनेस टावर) सर्वसाधारणका लागि खुला गरिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको छ । साउन १ गतेदेखि प्रवेश खुला गरिएको यस टावरले दमक क्षेत्रमा पर्यटकीय चहलपहल बढाएको छ ।
दमक नगरपालिका–३ का वडाध्यक्ष नविन बरालका अनुसार, टावरको टुप्पोसम्म पुगेर टाढासम्मको मनमोहक दृश्यावलोकन गर्न पर्यटकहरू झुम्मिन थालेका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना झापाका प्रशासन अधिकृत उमेश खनालले साउन ६ गतेसम्म २ हजार १ सय ४५ जनाले टावरको अवलोकन गरिसकेको जानकारी दिए । टावर प्रवेशका लागि प्रतिव्यक्ति १०० रुपैयाँ शुल्क तोकिएको छ ।
यो टावर निर्माणमा १ अर्ब ४५ करोड रुपैयाँ खर्च भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर २३ गते यसको विधिवत् रुपमा उद्घाटन गरेका थिए । हाल बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सर्वसाधारणका लागि खुला गरिएको छ । यो टावरमा १६ तलासम्म चढेर दृश्यावलोकन गर्न सकिन्छ । टावरमा दुई वटा विद्युतीय सिँढी (लिफ्ट) प्रयोगमा ल्याइएको छ ।
सरकारले दमक व्यापारिक कम्प्लेक्स, काठमाडौँको धरहरालगायतका विशेष संरचनाको सञ्चालनका लागि हालै विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समिति गठन गरेको छ । उक्त समिति क्रियाशील नहुन्जेलसम्मका लागि सहकारी विकास मन्त्रालयले ‘बिजनेस टावर’को सञ्चालन र रेखदेखको जिम्मेवारी सघन सहरी तथा भवन निर्माण आयोजना झापालाई दिएको छ, जसले १० जना कर्मचारी परिचालन गरेको छ ।