दुई तिहाइको सरकारले अर्थतन्त्र सुधार गर्न सकेन : वर्षमान पुन


काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले दुई तिहाइको सरकारले एक वर्षमा अर्थतन्त्रमा उल्लेख्य सुधार गर्न नसकेको बताएका छन् । मंगलबार एक कार्यक्रममा उनले सरकारको निष्क्रियता र परम्परागत बजेटका कारण अर्थतन्त्र चलायमान हुन नसकेको टिप्पणी गरे ।
पुनका अनुसार, सरकारले वित्त नीति राम्रो ल्याउन नसकेकाले अर्थतन्त्रका सूचकहरूमा सुधार देखिएको छैन । यद्यपि, नेपाल राष्ट्र बैंकको हालैको मौद्रिक नीतिले केही आशा जगाएको उनले उल्लेख गरे ।
उनले बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहमा समस्या रहेको र केन्द्रीय बैंकले निरन्तर बजारबाट रकम खिच्दा मनोबल घटिरहेको बताए । कोभिड–१९ पछिको पुनर्कर्जाजस्ता राम्रा नीतिहरू पनि अनुत्पादक क्षेत्रमा लगानी हुँदा अर्थतन्त्र तीन वर्षसम्म ‘स्लो डाउन’मा गएको उनको भनाइ छ ।
पुनले कुल कर्जाको ६०% भन्दा बढी हिस्सा सीमित व्यक्तिहरूको हातमा केन्द्रित भएको र कृषि, उद्योगभन्दा व्यापारमा बढी लगानी हुँदा प्रतिफल कम आएकोमा चिन्ता व्यक्त गरे । उनले अर्थतन्त्रलाई भविष्यमा थप समस्यामा धकेल्न नदिन अहिले नै सचेत हुनुपर्नेमा जोड दिए ।