आर्थिक विकासका लक्ष्यमा सरकार केन्द्रीत छ : अर्थमन्त्री पौडेल


लुम्बिनी । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार मुलुकमा सुशासन, आर्थिक विकास र समृद्धिको सपना साकार पार्ने दिशामा अगाडि बढेको बताएका छन् ।
उनले देशलाई अस्थिर बनाइराख्ने तत्वहरुले सरकारलाई असफल बनाउन विभिन्न प्रयत्नहरु गरिरहेको तर चौतर्फी हमलाका बाबजुद पनि सरकार आफ्नो लक्ष्यमा अगाडि बढिरहेको बताए ।
पुष्पलाल स्मृति दिवसको अवसरमा नेकपा एमाले रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस–एमाले गठबन्धनको सरकार मुलुकमा सुशासन र स्थिरता दिनका लागि निर्माण गरिएको र यो गठबन्धन आगामी ०८४ सम्मै यो कायम रहने पनि बताए ।
“बाहिर जसरी गठबन्धन भत्किँदैछ भनेर प्रचार गरिए पनि त्यसमा कुनै सत्यता छैन”, उनले भने, “शान्ति, स्थिरता र सुशासनका लागि गठबन्धनको सरकार निर्माण भएको हो, २०८४ सम्म यो गठबन्धन तलमाथि हुँदैन ।”
सरकारका विरुद्ध नकारात्मक भाष्य सिर्जना गर्न खोजिएको र सिङ्गो समाजलाइ गलत दिशातर्फ धकेल्न सकिन्छ कि भनेर प्रयत्न गरिएको भन्दै अर्थमन्त्री पौडेल भन्छन्, “यस्ता खाले सबै प्रयत्नलाई चिरेर सरकार अघि बढी रहेको छ ।”