मधेसको खडेरी समाधान गर्न युद्ध स्तरमा काम गर्छौं : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसमा देखिएको खानेपानी र सिँचाइको समस्या समाधानका लागि युद्धस्तरमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले आजैको मन्त्रिपरिषद् बैठकबाट मधेस प्रदेशलाई प्राकृतिक विपद्ग्रस्त क्षेत्र घोषणा गरिएको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले राष्ट्रसामु देखिएका चुनौतीहरूको सामना गर्न सरकार दृढ रहेको र स्थिरता तथा स्थायित्व कायम गर्दै अघि बढ्ने सङ्कल्प रहेको बताए । उनले भने, ‘अहिले पहाडमा वर्षा र बाढीको प्रभाव छ भने तराई–मधेस सुक्खा समस्याले ग्रस्त छ। यी समस्या समाधानका लागि सरकारले आवश्यक कदमहरू चालेको छ।’
प्रधानमन्त्रीका अनुसार प्राकृतिक विपद्ग्रस्त घोषणापछि तराई–मधेसमा खानेपानीका लागि आवश्यक सामग्री र ’डिपबोरिङ’ गर्न सहज हुनेछ । उनले भने, “यसतर्फ सरकार गम्भीर छ। अब अल्पकालीन र दीर्घकालीन उपाय खोजेर समस्या समाधानतर्फ लाग्नुपर्नेछ। यससम्बन्धी गर्नुपर्ने काममा सरकारले कुनै कसर बाँकी राख्ने छैन।”