सहमति कार्यान्वयन नभए सशक्त आन्दोलन गर्ने चिकित्सक संघको चेतावनी


काठमाडौं । नेपाल चिकित्सक संघले सरकारसँग भएको सहमति कार्यान्वयनमा ढिलाइ प्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै पुनः आन्दोलनको चेतावनी दिएको छ । संघका महासचिव डा. सञ्जीव तिवारीले बुधबार विज्ञप्ति जारी गर्दै सरकारको विश्वसनीयतामाथि प्रश्न उठाउँदै तत्काल सहमति कार्यान्वयनको माग गरेका छन् ।
गत असार २४ गते प्रधानमन्त्रीको निर्देशनमा चिकित्सक संघ र सरकारका तीन मन्त्रीबीच उपभोक्ता संरक्षण ऐनलगायत कानुनी तथा नीतिगत व्यवस्थाको संशोधनका लागि ३ बुँदे सहमति भएको थियो । उक्त सहमतिअनुसार ७ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न कार्यदल बनेको थियो ।
तर, निर्धारित समयसीमा सकिएको लामो समय बित्दा पनि कार्यदल पूर्णरूपमा निष्क्रिय रहेको र कुनै ठोस प्रगति नदेखिएको संघले आरोप लगाएको छ । महासचिव तिवारीले सरकारका उच्च पदस्थ अधिकारीहरूसँग भएको सहमति समयमै पालना नहुँदा भविष्यमा उनीहरूको प्रतिबद्धतामा विश्वास गर्ने कुनै आधार नरहेको बताएका छन् ।