राजनीतिक दबाबमा विमानस्थल बनाउन बन्द गरौँ : योगेश भट्टराई

User Image मेयरसाप डेस्क | एक महिना अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Yogesh-Kumar-Bhattarai.png

काठमाडौं । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले नेपालमा थप विमानस्थल निर्माण गर्दा राजनीतिक दबाब र नेताहरूको व्यक्तिगत स्वार्थ हावी हुनु नहुने बताएका छन् ।

बिहीबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पूर्व पर्यटनमन्त्रीसमेत रहेका भट्टराईले सरकारको नीति तथा कार्यक्रममा नयाँ विमानस्थल थप्ने कुरा उचित नभएको धारणा राखे ।

भट्टराईका अनुसार, नेपालमा ५५ वटा विमानस्थलमध्ये ३२ वटा मात्रै सञ्चालनमा छन्, जसमध्ये पनि सबै नियमित छैनन् । सन् १९४९ मा हवाई सेवा सुरु भएयता नेपालमा १०८ वटा दुर्घटनामा ९५९ जनाको ज्यान गइसकेको तथ्य उनले पेस गरे ।

भट्टराईले विमान दुर्घटना न्यूनीकरणका लागि मानवीय त्रुटि, प्राविधिक समस्या र व्यवस्थापकीय कमजोरी समाधानमा ध्यान दिनुपर्ने बताए । उनले विमानस्थल थप्ने कुरा फेसन भएको भन्दै नयाँ निर्माण गर्नुभन्दा भएका विमानस्थलहरूलाई व्यवस्थित गर्दै क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए ।

उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल मात्रै अबको प्राथमिकतामा पर्नुपर्ने धारणा व्यक्त गर्दै, राष्ट्रको ठूलो क्षति रोक्न अनावश्यक विमानस्थल निर्माण बन्द गर्नुपर्ने तर्क प्रस्तुत गरे ।


Facebook Comments