‘कुलिङ पिरियड’ प्रकरण : नेता र कर्मचारीसँग छानबिन समितिले लियो बयान


काठमाडौं । संघीय निजामती सेवा विधेयकको दफा ८२ मा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा भएको छेडखानीबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले दर्जनभन्दा बढी राजनीतिक दलका नेता र कर्मचारीहरूसँग बयान लिएको छ ।
नेपाली कांग्रेसका सांसद जीवन परियारको सभापतित्वमा रहेको समितिले छेडखानीमा प्रत्यक्ष र अप्रत्यक्ष जोडिन सक्ने व्यक्तिहरूबाट बयान लिएको हो । समितिले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारसँग बयान लिएको छ ।
त्यस्तै, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थ र सहसचिव मिरा आचार्य, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुंगाना र सहसचिव सुवास भट्टराईसँग पनि बयान लिइएको छ ।
बयानका क्रममा कर्मचारीहरूले सांसदहरूले आफूहरूले दिएको निर्देशन मात्रै पालन गरेको बताएका छन् तर, सांसदहरूले कर्मचारीले गलत नियत राखेर असम्बन्धित शब्द घुसाएको बयान दिएका छन् ।
छानबिन समितिले काम सुरु गरेको २१ दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । समितिले बयान लिने क्रम अन्तिम चरणमा पुगेको र अब कागजात एकीकृत गरेर प्रतिवेदन लेख्ने तयारी गरिरहेको जनाएको छ ।