मधेसको खानेपानी संकट समाधान गर्न मन्त्री यादवको ‘युद्धस्तर’ निर्देशन

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले तराई–मधेसमा देखिएको खानेपानी समस्या, विशेषगरी बारा र पर्सामा उत्पन्न संकट समाधानका लागि मातहतका निकायलाई तत्काल जनशक्ति परिचालन गर्न निर्देशन दिएका छन् । आज सिंहदरबारस्थित मन्त्रालयमा आयोजित उच्च व्यवस्थापन टिम (एसएमटी) बैठकमा उनले सम्पूर्ण जनशक्ति खटाएर समस्या समाधान गर्न सकिने बताए ।
मन्त्री यादवले जलवायु परिवर्तनका कारण गहिरिँदै गएको खानेपानी संकटलाई मध्यनजर गर्दै, दातृ निकाय, अन्तर्राष्ट्रिय संघसंस्था र छिमेकी मुलुकहरूसँग आवश्यक सहयोगका लागि पत्राचार गर्न पनि निर्देशन दिएका छन् ।
मन्त्रालयका सचिव इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यका अनुसार, बैठकले विपद् व्यवस्थापनका लागि बजेट सुनिश्चितता, विनियोजित बजेटको लचिलो प्रयोग, खानेपानी आपूर्तिका लागि टोली खटाउने र अन्तर्राष्ट्रिय सहयोगका लागि पहल गर्ने लगायतका महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत तराई–मधेसका सुक्खा क्षेत्रमा तत्काल खानेपानी आपूर्तिका लागि सहजीकरण गर्न टोली खटाउने निर्णय भएको छ । यसका साथै, पानीको सदुपयोग र सुरक्षित पानी प्रयोगका लागि जनचेतना मूलक कार्यक्रमहरू दातृ निकाय र जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा सञ्चालन गरिनेछ ।
मधेस प्रदेशका आठ जिल्लामा फिल्ड स्तरको टोली गठन गर्ने र प्रत्येक जिल्लामा एक सिनियर डिभिजनल इञ्जिनियर र एक इञ्जिनियरसहितको टोली खटाउने निर्णय पनि भएको छ । यी टोलीले स्थलगत अध्ययन, प्राथमिकता पहिचान र शीघ्र खानेपानी समस्या समाधानका प्रस्ताव पेस गर्नेछन् ।
बैठकले पानी संकटग्रस्त जिल्लामा तत्काल खानेपानी आपूर्ति सुनिश्चित गर्न अर्थ मन्त्रालयमार्फत मित्र राष्ट्रहरू र दातृ निकायहरूसँग ट्याङ्कर, बोरिङ सेटअप, प्याकेज्ड वाटर वितरण लगायतका सम्भावित सहयोगका क्षेत्रमा राहत कार्यक्रम सञ्चालन गर्न सहकार्यका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
मन्त्रालयका विभिन्न शीर्षकमा विनियोजित बजेटलाई विपद् संकटग्रस्त क्षेत्रमा खानेपानीको अल्पकालीन व्यवस्थापनका लागि तत्काल खर्च गर्न अर्थ मन्त्रालयसँग सहमति माग गर्ने निर्णय पनि गरिएको छ ।
Facebook Comments