Ad Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो निर्माण हुने

User Image मेयरसाप डेस्क | एक दिन अगाडि
Image of https://mayorsap.com/storage/photos/10/IMG-20250724-WA0000.jpg

काठमाडौं । नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै गुह्येश्वरीमा ६ अर्ब ५० करोड लागतमा नयाँ हवाई इन्धन डिपो निर्माण गर्ने भएको छ । हाल सिनामङ्गलमा रहेको डिपो अन्तर्राष्ट्रिय मापदण्ड विपरीत र सुरक्षाका हिसाबले जोखिमपूर्ण भएपछि नयाँ डिपो बनाउन लागिएको हो ।

त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बिहीबार निगमलाई हस्तान्तरण गरिएको छ । यो डिपोमा अमेरिकी पेट्रोलियम इन्स्टिच्युटको सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गरिनेछ ।

नयाँ डिपोमा ३ हजार किलोलिटर क्षमताका पाँचवटा भर्टिकल ट्यांक निर्माण गरिनेछ, जसले आगामी ५० वर्षका लागि हवाई इन्धनको माग धान्न सक्नेछ । यो पूर्ण स्वचालित र अत्याधुनिक हुनेछ जसमा इन्धन लोडिङ र अनलोडिङका लागि आवश्यक सुविधा, अन्तर्राष्ट्रिय उडानका लागि रिफ्युलर र अग्नि नियन्त्रणका लागि २,१०० किलोलिटर क्षमताका दुईवटा पानी ट्यांकसहितको स्वचालित प्रणाली जडान गरिनेछ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गा व्यवस्थापनको काम सकेपछि आगामी भदौमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी मङ्सिरदेखि निर्माण सुरु गर्ने योजना छ । दुई वर्षभित्र निर्माण सम्पन्न गरी विसं २०८४ को मङ्सिरदेखि नयाँ डिपोबाट इन्धन भर्ने लक्ष्य राखिएको छ ।