परिवारलाई ‘बैंगलोर गयौं’ भन्दै ब्लक गरेका दिदीबहिनी भक्तपुरमा मृ*त भेटिएपछि...


काठमाडौं । भक्तपुरको थिमी नगरपालिका–८, बोडेस्थित सिन्टीटारमा बिहीबार बिहान १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल झुन्डिएको अवस्थामा मृत भेटिएका थिए ।
उनीहरू सुर्खेतको पञ्चपुरी नगरपालिका–८ स्थायी ठेगाना भएका दिदीबहिनी हुन् र करिब ३ हप्ताअघि भारतको महाराष्ट्रस्थित मुम्बईबाट भागेर भक्तपुर आएका थिए । प्रहरीका अनुसार, उनीहरू स्थानीय चक्रधर प्रजापतिको घरमा डेरा लिएर बस्दै आएका थिए ।
परिवारलाई कम्प्युटर कक्षा जाने बताएर मुम्बईबाट हिँडेका उनीहरूले पछि ’बेंगलोर गयौं, पैसा कमाएपछि आउँछौं’ भन्दै भ्वाइस म्यासेज पठाएको मृतककी आमा उमा कँडेलले भारतीय सञ्चारमाध्यमलाई बताएकी छिन् ।
भक्तपुर आएपछि उनीहरूले एउटा गार्मेन्टमा काम गर्न थालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले मृत्युको बाटो किन रोजे भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घटनास्थलबाट मोबाइल र उनीहरूले बनाएको टिकटक भिडियो पनि फेला परेको छ । उक्त टिकटक भिडियोमा राखिएको गीत छ- मरेर गए नि नतोडिने बन्धन माया हो ।
यी दिदीबहिनीले आत्महत्यापूर्व आफ्नै मोबाइलबाट आत्महत्या तयारीका विभिन्न चरणका फोटो खिचेर टिकटक बनाएको पाइएको छ । घाँटीमा डोरीको पासो लगाउँदा उनीहरूको अनुहारमा कुनै पीडा देखिँदैन, सामान्य स्थितिमै फोटो पनि खिचेका छन् ।
मृतकका बुवा वासुदेव कँडेल काठमाडौं आउँदै छन् र अभिभावक आएपछि शव पोस्टमार्टमका लागि पठाइनेछ ।