राप्ती नदीमा आपत्कालीन तटबन्ध निर्माण, घट्यो बाढीको जोखिम


नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–७ खल्ला झगडियास्थित राप्ती नदीमा ‘बेम्बोपाइलिङ र आरसिसी प्रकुपाइन’ प्रविधि प्रयोग गरी आपत्कालीन तटबन्ध निर्माण गरिएको छ । यो तटबन्धले राप्ती नदीको बाढीबाट बस्ती जोगाउने भएपछि स्थानीय खुसी भएका छन् ।
वडाध्यक्ष रामलखन थारुले तटबन्ध निर्माणले बाढीको जोखिम घटेको र यस वर्ष बस्ती जोगिने विश्वास व्यक्त गरे । जनताको तटबन्ध कार्यालयको पहलमा तीन वर्षअघि भत्किएको तटबन्धको मर्मत र नयाँ निर्माण कार्य गरिएको हो । वि.सं. २०७१ को बाढीपछि खल्ला झगडियासहित दर्जनौं गाउँ डुबानको जोखिममा थिए ।
जनताको तटबन्ध कार्यालयका प्रमुख डा. नारायणप्रसाद सुवेदीका अनुसार, ६ करोड ५० लाख रुपैयाँ लागतमा पक्की तटबन्ध निर्माणको ठेक्का स्वीकृत भएको छ । खल्ला झगडिया र जरैयामा आपत्कालीन तटबन्ध बनाइएको र वर्षापछि स्थायी तटबन्ध निर्माण प्रक्रिया सुरु हुने उनले बताए ।
यो प्रविधि खर्च कटौतीमा समेत प्रभावकारी रहेको र यसको सफल अभ्यासबाट भारतले समेत सिकेको डा. सुवेदीले जानकारी दिए । यस तटबन्धबाट देउपुरा, पिप्रहवा, सोनवर्षा, कुदरवेटवा, गङ्गापुर, भगवानपुर, नवाजीगाउँ, भोजपुर र कुडवागाउँ लगायतका बस्ती लाभान्वित हुनेछन् ।