Ad Image

आम्दानीको स्रोत बन्दै म्याग्दीमा जङ्गली निहुरो

User Image मेयरसाप डेस्क | २३ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/Daude.jpg

म्याग्दी । म्याग्दीको उच्च पहाडी क्षेत्रका जङ्गलमा पाइने डौडे (निहुरो)ले बजार पाउन थालेपछि ग्रामीण क्षेत्रका बासिन्दाका लागि आम्दानीको माध्यम बनेको छ । केही वर्षअघिसम्म खेर जाने निहुरो सडक यातायात र ढुवानीको सुविधा भएपछि बिक्री हुन थालेको अन्नपूर्ण गाउँपालिका–१ दोवाका वडाध्यक्ष दिलीप गर्बुजाले बताए ।

वडाध्यक्ष गर्बुजाका अनुसार, दोवामा मात्र निहुरोबाट वार्षिक २५ देखि ३० लाखसम्म नगद आम्दानी हुने गरेको छ । निहुरो सङ्कलक मायाकुमारी पुनले प्रतिकिलो रु ६५ देखि ७० मा गाउँबाटै बिक्री हुने गरेको बताइन् ।

बेनीका तरकारी तथा फलफूल व्यवसायी देवेन्द्र सुवेदीका अनुसार, दोवा, दग्नाम, चिमखोला, पात्लेखेत, मुना र हिदीबाट दैनिक ५०० किलोग्राम निहुरो बेनी आइपुग्छ, जसलाई बागलुङ, कुश्मा र काठमाडौं पठाइन्छ ।

बेनी आइपुग्दा निहुरोको मूल्य प्रतिकिलो रु १०० देखि रु १२० सम्म पर्छ । गत वर्षको तुलनामा यसपालि आधा मात्रै निहुरो आएको र माग धान्न नसकिएको उनले बताए ।

समुद्री सतहदेखि १५०० देखि २५०० मिटर उचाइको ओसिलो ठाउँमा बर्खा याममा प्राकृतिक रूपमा उम्रने निहुरो औषधीय र पोषणयुक्त तरकारीका रूपमा लिइन्छ । यसमा भिटामिन ’ए’, ’बी’, ’सी’ र आइरन पर्याप्त मात्रामा पाइन्छ, जुन आँखा, मुटु र मधुमेह रोगीहरूका लागि लाभदायक मानिन्छ ।