कामचटका महाभूकम्पपछि कुरिल टापुमा सुनामी छाल: प्रशान्त क्षेत्रभर फैलियो त्रास


काठमाडौं । रूसको सुदूरपूर्वी क्षेत्र कामचटका ८.७ म्याग्निच्युडको महाभूकम्पले थरथराएको छ । यो सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ । यसको प्रभाव केवल रूसमा सीमित रहेन, जापानदेखि अमेरिकासम्मका तटीय क्षेत्रहरूमा पनि सुनामीको चेतावनी जारी गरिएको छ ।
भूकम्पपछि सुनामीको प्रहार निरन्तर
कामचटका एलिजोभस्की जिल्लामा चार मिटर अग्लो सुनामी छाल देखिएको छ । त्यसपछि सेभेरो–कुरिलस्कमा ७.९ म्याग्निच्युडको अर्को ठूलो भूकम्प गएको छ । भूकम्पपछि कुरिल टापुमा तीनवटा विशाल सुनामी छालहरू आएका छन्, जसले तटीय बस्तीहरू डुबानमा परेका छन् ।
सुनामीको सबैभन्दा शक्तिशाली तेस्रो छाल भएको बताइएको छ । सखालिन ओब्लास्टका गभर्नर भ्यालेरी लिमारेन्कोका अनुसार विद्युत् र पानी आपूर्ति सञ्जालमा क्षति पुगेको छ । सम्पूर्ण क्षेत्रलाई आपतकालीन क्षेत्रमा परिणत गरिएको छ ।
‘हामीले सम्पूर्ण बिजुली बन्द गरेका छौं। शहरमा फेरि प्रवेश आपतकालीन सेवा मन्त्रालयको आदेशपछि मात्र सम्भव हुनेछ,’ गभर्नर लिमारेन्को भनाई उदृत गर्दै लेन्ता डट रुले समाचार लेखेको छ ।
ड्रोनबाट त्रासदीका दृश्यहरू सार्वजनिक
ड्रोन फुटेजमा सेभेरो–कुरिलस्कको तटीय इलाका जलमग्न देखिएको छ । एउटा माछा प्रशोधन प्लान्ट पूरै डुबानमा परेको छ । यसैबीच जापानको समुद्री किनारमा ह्वेलहरू बगाएर ल्याएको भन्दै स्थानीय सञ्चारमाध्यमहरूले त्रासपूर्ण दृश्यहरू प्रसारण गरेका छन् ।
२,७०० मानिस विस्थापित, शिविर बगायो, सैनिक विमान परिचालन
भूकम्प र सुनामीका कारण हालसम्म करिब २,७०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको रूसी प्रशासनले जानकारी दिएको छ । कुरिल टापु नजिकै रहेको रूसी भौगोलिक समाजको अनुसन्धान शिविर पनि बगाएको छ । शिविरमा रहेका सबै मानिस सकुशल बाहिरिएको रूसी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
जापानले प्रशान्त क्षेत्रमा लडाकु विमान, गस्ती विमान र हेलिकप्टरहरू परिचालन गर्दै सुनामी निगरानी कडाई गरेको छ । अमेरिका, हवाई, चिली, इक्वेडर, पेरु, मेक्सिको र चीनमा पनि सुनामीको चेतावनी दिइएको छ ।
कामचट्काको अस्पतालमा डाक्टरहरूको साहस—शल्यक्रिया रोकिएन
भूकम्पको झट्का आउँदा कामचट्काको एउटा अस्पतालमा शल्यक्रिया जारी रहेको थियो। क्यामेराले कैद गरेका दृश्यहरूमा यन्त्रहरू हल्लिए पनि डाक्टरहरू विचलित नभएको देखाइएको छ । बिरामीको जीवन बचाउन कार्य जारी राखेकाले कामचटका गभर्नर भ्लादिमिर सोलोडोभले ती निडर चिकित्सकहरूलाई राज्य पुरस्कार दिने घोषणा गरेका छन् । “जसरी डाक्टरहरूले संकटका बीच काम गरे, त्यो उच्चतम प्रशंसा योग्य छ,” गभर्नर सोलोडोभले भने ।
बढ्दो परकम्प, जनसुरक्षाका लागि सेवा समन्वय
विज्ञहरूका अनुसार परकम्पहरू एक महिनासम्म निरन्तर महसुस हुने सम्भावना छ । केही स्थानमा भवन भत्किएको, विमानस्थलको छत खसेको, भित्तामा चिरा परेको, अपार्टमेन्टहरूमा फर्निचर खसेको समाचारहरूमा जनाइएको छ । क्षेत्रीय कार्यालयहरू बन्द गरिएका छन् र सुरक्षा सुनिश्चित गर्न संलग्न सबै सेवा निकायहरूबीच समन्वय गरिएको छ ।