Ad Image

गृहमन्त्री लेखकको कार्यकालमा लागुऔषध नियन्त्रणमा उल्लेख्य सफलता

User Image मेयरसाप डेस्क | २२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/ramesh-lekhak.jpg

काठमाडौं । गृहमन्त्री रमेश लेखकले जिम्मेवारी सम्हालेपछिको पहिलो वर्षमा लागुऔषध नियन्त्रणलाई प्राथमिकतामा राखेर चलाएको ‘महाअभियान’ सफल देखिएको छ ।

सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम जस्ता अन्य चुनौतीसँगै लागुऔषधको अवैध कारोबार र ओसारपसार नियन्त्रण गर्नु प्रमुख चुनौती रहेको निष्कर्षसहित गृहमन्त्री लेखकले यस क्षेत्रमा सक्रियता बढाएका थिए ।

तथ्यांकले देखाउँछ सफलता
गृहमन्त्री लेखकको नेतृत्वमा बितेको एक वर्षमा नेपाल प्रहरीले लागुऔषध मुद्दामा ७ हजार ९४३ जना स्वदेशी तथा विदेशी अभियुक्तलाई पक्राउ गरेको छ । यो संख्या अघिल्लो आर्थिक वर्ष (६,७४२ जना) भन्दा १ हजार २०१ ले बढी हो ।

पक्राउ पर्नेमा ७ हजार १९७ पुरुष, ४२१ महिला, ३०७ भारतीय नागरिक र १८ अन्य मुलुकका नागरिक रहेका छन् । यस अवधिमा लागुऔषधका ५ हजार ११० मुद्दा दर्ता भएका छन् ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका अनुसार, गत आर्थिक वर्ष २०८१\८२ मा २० किलो ९२८ ग्राम कोकिन, १८५ किलो ५८ ग्राम अफिम, ४८ किलो ४६५ ग्राम खैरो हिरोइन, ८२९ किलोग्राम चरेश र ५१४३९ ग्राम गाँजा बरामद भएको छ । अघिल्लो वर्षभन्दा कोकिनको बरामद मात्रै ७ किलोग्रामले बढी छ ।

त्यसैगरी, २ लाख २० हजार ४१० एम्पुल, ९३ हजार ४२४ नाइट्राजेपाम, ८ हजार ९४० कोरेक्स लगायत ठूलो मात्रामा अन्य लागुऔषध पनि बरामद भएको छ ।

प्रहरी र सशस्त्र प्रहरीको सक्रियता
गृहमन्त्रीको उच्च प्राथमिकताका कारण लागुऔषध नियन्त्रणमा सफलता मिल्दै गएको छ । लागुऔषध प्रयोग सडक दुर्घटना, आत्महत्या र साइबरक्राइम जस्ता आपराधिक घटना एक प्रमुख कारकका रूपमा देखिएको ब्युरोको भनाइ छ ।

खैरोहिरोइन, एम्पुल, नाइट्राजेपाम, टामाडोल लगायतका औषधिहरूको मुलुकभित्र प्रयोग बढ्दो छ भने कोकिन, अफिम, चरेश र गाँजा भारत तस्करी हुने गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोले गत आर्थिक वर्षमा मात्रै १ हजार ६७५ जनाविरुद्ध मुद्दा चलाएको छ, जुन अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि हो ।

यसैगरी, सशस्त्र प्रहरी बलले पनि ‘नशारहित युवा–हाम्रो देशका कर्णधार, सिमानाको रक्षा–राष्ट्र निर्माणको आधार’ भन्ने नाराका साथ लागुऔषध नियन्त्रणमा सक्रियता बढाएको छ । 

बितेको एक वर्षमा सशस्त्र प्रहरीले लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न ४६० जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले जानकारी दिएका छन् ।