Ad Image

काठमाडौं महानगरद्वारा छात्रवृत्तिको दोस्रो मनोनयन सूची प्रकाशित

User Image मेयरसाप डेस्क | २२ घण्टा अगाडि
Image of https://mayorsap.com/storage/photos/10/kathmandu mahanagar.jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८२\८३ का लागि ११ र १२ कक्षाको छात्रवृत्ति कोटाको दोस्रो चरणको मनोनयन सूची प्रकाशित गरेको छ । यस चरणमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन संकायमा गरी जम्मा ५५४ जना विद्यार्थी छनोट भएका छन् ।

कामपा शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीका अनुसार, पहिलो चरणको मनोनयन सूची साउन ६ मा प्रकाशित भई साउन ९ गतेभित्र भर्ना प्रक्रिया सम्पन्न भएको थियो । बाँकी रिक्त सिटहरूमा आवेदनको प्राथमिकताक्रम र कोटाका आधारमा यो दोस्रो सूची सार्वजनिक गरिएको हो ।

मनोनयनमा परेका विद्यार्थीले साउन १५ गतेभित्र सम्बन्धित शिक्षण संस्थामा भर्ना भइसक्नुपर्नेछ, अन्यथा छात्रवृत्तिमा दाबी गर्न पाइने छैन । पहिलो र दोस्रो चरणमा मनोनयन हुन नसकेका तर परीक्षामा उत्तीर्ण विद्यार्थीका लागि साउन १६ गतेपछि रिक्त सिटमा भर्नाको अवसर प्रदान गरिनेछ ।

छनोट सूची योग्यताक्रम र विद्यार्थीले आवेदनमा उल्लेख गरेको शिक्षण संस्थाको प्राथमिकताका आधारमा तयार गरिएको छ। सामुदायिक विद्यालय, संस्थागत विद्यालय, काठमाडौं महानगरका स्थायी बासिन्दा र ल्याण्डफिल साइट क्षेत्रका विद्यार्थीलाई प्राथमिकता दिइएको छ ।

छात्रा, आदिवासी\जनजाति, मधेसी, खस आर्य, दलित, मुस्लिम, थारु, अपाङ्गता भएका, पिछडिएको क्षेत्रका व्यक्ति, सहिद र बेपत्ता द्वन्द्वपीडित परिवारका विद्यार्थीहरूलाई आरक्षण कोटामा समावेश गरिएको छ ।

नतिजा हेर्नकाे लागि यहाँ क्लिक गर्नुहाेस्–  छात्रवृत्ति परीक्षाको दोस्रो मनोनयन सूची